भाइरल पोष्ट, लालबन्दी
चैत्र २० गते । प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चारगृह र सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया गर्दै सर्लाहीमा पनि ३२औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ ।
नेपाल पत्रकार महासंघ सर्लाहीले दिवसको अवसरमा लालबन्दी १ स्थित महासंघका लागि निर्माणाधीन अधुरो अपुरो सामुदायिक भवनमा जिल्लाभरका महासंघमा आवद्ध पत्रकारहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरेको महासंघका जिल्ला सचिव सोम दियालीले जानकारी दिनुभयो ।
महासंघ अध्यक्ष ओमप्रकाश ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बन्दना झाले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बख्तियार अलि, नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण थपलिया, सचिव रामबाबु खड्का लगायतले दिवसका अवसरमा शुभकामना मन्तव्य राख्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकारहरुको हकहितको रक्षाको लागि आफूहरु महासंघलाई जस्तोसुकै साथसहयोग गर्न तयार रहेको उहाँहरुले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासंघ अध्यक्ष ठाकुरले आफूले पत्रकारहरुकै हितमा काम गर्ने भएकोले सबैको सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले नवलपुरमा बन्दै गरेको अधुरो अपूरो भवन निर्माणका क्रममा आएका केही अवरोधहरुलाई चिर्दै जसरी पनि भवन निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले सर्लाहीमा महासंघको सरमुकाम मलंगवा र लालबन्दी १ नवलपुरमा गरी दुई ओटा भवन नै आफ्नै कार्यकालमा निर्माण सम्पन्न गरी सुचारु गर्ने प्रतिवद्धतालाई दोहो¥याउनुहुँदै सबै सञ्चारगृह, सञ्चारकर्मी, नागरीक समाज र सरोकारवालाले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकार पनि यही समाजको हिस्सा भएकोले महासंघका काममा कसैले अवरोध गर्न नहुने बताउनुभयो ।
कार्यक्रमा महासंघका पदाधिकारीहरुसहित फोनिजका जिल्ला अध्यक्ष घनश्याम बलम्पाकी, प्रेस सेन्टर सर्लाहीका उपाध्यक्ष क्षितिज विश्वकर्मालगायत विभिन्न सञ्चारगृहमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।
विश्व प्रेस स्वतन्त्रता दिवसको यस वर्षको नारा ‘नयाँ साहसिक संसारमा रिपोर्टिङ–प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव’ तय गरिएको थियो ।