दक्षिण एशियामा महिला नेतृहरूले आफ्नो साहस, रणनीति र विद्रोही स्वभावमार्फत राजनीतिमा शीर्ष स्थान ओगट्न सफल भएका छन् । बङ्गलादेशमा शेख हसीना र बेगम खालिदा जिया, भारतमा इन्दिरा गान्धी र ममता बेनर्जी, पाकिस्तानमा बेनजीर भुट्टो, श्रीलङ्कामा श्रीमाओ बन्दरानायके, चन्द्रिका कुमारतुंग यी नेतृहरू केवल प्रतिनिधित्व मात्र होइन, कार्यकारी नेतृत्वका शक्तिशाली प्रतीक बन्न सफल भए । तर नेपालमा विद्यादेवी भण्डारी, अष्टलक्ष्मी शाक्य, पद्मा अर्याल, रामकुमारी झाँक्री, हिसिला यमी, पम्फा भुसाल, शान्ता मानवी, शोभिता गौतम, तोसिमा कार्की, शुमना श्रेस्ठ, जस्ता नेतृहरू रहे पनि उनीहरू निर्णायक र कार्यकारी नेतृत्वमा पुग्न सकेका छैनन् । यसको प्रमुख कारण हो — दलभित्र तार्किक र शाहसी विद्रोह गर्ने क्षमताको कमी ।
‘‘लेखेर राख्नुस् यी सबै नेतृहरू आफ्नो ‘माउ पार्टी’ भित्रै सशक्त विद्रोह नगरी कार्यकारी नेतृत्वमा पुग्न सक्दैनन् । दलहरू अझै पितृसत्तात्मक संरचनाले बाँधिएका छन् । पुरुष नेताहरूले महिलालाई सहायक भूमिकामा कँज्याएका छन् ।’’
विद्यादेवी भण्डारी राष्ट्रपति हुनु भो तर नेकपा (एमाले) को कार्यकारी नेतृत्व (प्रधानमन्त्री वा पार्टी अध्यक्ष) मा पुग्ने आँट गर्न सकि रहनु भा’छैन ? अष्टलक्ष्मी शाक्यजस्ता इतिहास बोकेका सशक्त नेतृ पनि पार्टीभित्र पुरुष वर्चस्व अगाडि सधैं ‘समझौतावादी’ भूमिकामा रोकिन विवस हुनु भा’छ । रामकुमारी झाँक्रीले केही हदसम्म विद्रोही शैली देखाइन्, आफ्नो पार्टी पुरुष नेतृत्वको साखुल्य बन्न अन्य पार्टीकी नेतृको आलोचना गरिन् तर पार्टीभित्र सैद्धान्तिक विद्रोहको बीउ रोप्न सकिनन् । हिसिला यमी र पम्फा भुसालले पार्टीभित्र आफ्नो उपस्थिति बनाए, तर निर्णायक तहमा पुग्ने संघर्ष अपूरो रह्यो । र विद्रोहको कुनै छाँटकाँट नै छैन । हाल संसदमा उपस्थित युवा महिला नेतृहरु सोभिता, तोसिमा, शुमना केही तर्कसहित प्रस्तुत भई रहेका देखिन्छन् । तर वाँहरुमा पुरुष नेतृत्वको सामुन्ने दुई कदम अगाडि बढ्ने हिम्मतको खाँचो छ ।
लेखेर राख्नुस् यी सबै नेतृहरू आफ्नो ‘माउ पार्टी’ भित्रै सशक्त विद्रोह नगरी कार्यकारी नेतृत्वमा पुग्न सक्दैनन् । दलहरू अझै पितृसत्तात्मक संरचनाले बाँधिएका छन् । पुरुष नेताहरूले महिलालाई सहायक भूमिकामा कँज्याएका छन् — ‘अध्यक्षको सल्लाहकार’, ‘केन्द्रीय सदस्य’, ‘सहायक मन्त्री’ अपवादमा पूर्णमन्त्री र पार्टी भित्र सांगठनिक जिम्मेवारीमा जिल्ला अध्यक्ष, प्रदेश अध्यक्ष, प्रदेश इन्चार्ज, प्रदेश मुख्यमन्त्री जस्ता भूमिकामा न्यून छन् प्रायः सबै पार्टीमा । यसरी राजनीतिक रुपमा अग्लिन नपाउनुमा वंश परम्परा पनि हो । भारतमा इन्दिरा गान्धीको उदय हुनुमा नेहरुको छोरी भएकै कारण थियो । त्यस्तै पाकिस्तानमा बेनेजिर भुट्टो पनि अलि भुट्टोको छोरी भएकै कारण हो । चन्द्रीका कुमारा तुङ्गा र अन्य अन्य हरु पनि पिता वा पतिका कारण कार्यकारी नेतृत्वमा पुग्न सफल देखिन्छन् । तर नेपालमा कोइराला परिवार, पुष्पलालको परिवार, मदन भण्डारीको परिवारहरु ससक्त राजनीति गर्दा गर्दै पनि पछाडी धकेलिएका छन् ।
छिमेकी मुलुकहरूको उदाहरण बलियो छ । शेख हसीनाले बङ्गलादेशी राजनैतिक संरचनाभित्र विद्रोह गरिन, खालिदा जियाले सेनासँग सम्झौता गर्दै सत्ता सम्हालिन् । ममता बेनर्जीले काँग्रेस छाडेर तृणमूल कांग्रेस स्थापना गरिन् र पश्चिम बंगालको मुख्यमंत्री बनिन् । उनीहरू सबैले माउ पार्टी वा संस्थागत संरचनामा विद्रोह नगरेका भए आज इतिहासमा उनीहरूको नाम हुँदैनथ्यो, रहँदैनथ्यो । नेपालका महिला नेतृहरूले पनि अब समय अनुकूल विद्रोह गर्न जरुरी भइसकेको छ । उनीहरुले सुरुमा त दलभित्रका अलोकतान्त्रिक प्रवृत्तिहरू विरुद्ध खुला आवाज उठाउन सक्नुपर्छ । ‘निर्णय लिने कोर समूह’ भित्र प्रवेश गर्ने संघर्ष गर्नुपर्छ । केवल गुटगत सहमति वा अवसरको भरमा नभई वैचारिक र संगठनात्मक विद्रोहबाट नेतृत्व हात पार्नु पर्ने बेला आइसकेको छ ।
‘‘कार्यकारी नेतृत्वका लागि नेपाली महिला नेतृहरूले अहिले नै आफ्नो माउ पार्टीभित्र विचार, संगठन र नेतृत्व तीनै तहमा सशक्त विद्रोह गर्न जरुरी छ — आफ्नै लागि, महिला पुस्ताका लागि र नेपालको समग्र लोकतन्त्र र लोकतान्त्रिक पद्धतिका लागि ।’’
रामकुमारी झाँक्री, शोभिता गौतम, तोसिमा, सुमना जस्ता नेतृहरूले बोल्न थालेका छन्, तर त्यसलाई व्यक्तिगत असन्तोष होइन, संस्थागत विद्रोहमा परिणत गर्न सक्नुपर्छ । अष्टलक्ष्मी शाक्य र पद्मा अर्यालजस्ता नेतृहरूले आफ्नो अनुभव र संगठन क्षमता प्रयोग गर्दै महिला आन्दोलन भित्रैदेखि शक्ति सन्तुलन बदल्न पहल गर्नुपर्छ । विद्या भण्डारीजस्ता नेतृहरू अब केवल “स्टाच्युको’’ भूमिकामा मात्र रमाउने होइन पार्टी भित्रको नीति निर्माण र सरकारको कार्यकारी तहमा महिलाको निर्णायक नेतृत्व स्थापना गर्न अग्रसर हुनुपर्छ । वैचारिक या सैद्धान्तिक विद्रोह भनेको कुनै आत्मघाती द्वन्द्व होइन विचार, संगठन र साहसको सैद्धान्तिक संयोजन हो । इतिहास बदल्न विद्रोह अपरिहार्य हुन्छ । नेपाली महिला नेतृहरूले यदि आज विद्रोह गर्न सकेनन् या गरेनन् भने, इतिहासले भोलि प्रश्न गर्नेछ — “किन तपाईंहरूले मौनता रोज्नु भा ?’’ पछिल्लो पिढी अलि शसक्त छ ।
त्यसैले, कार्यकारी नेतृत्वका लागि नेपाली महिला नेतृहरूले अहिले नै आफ्नो माउ पार्टीभित्र विचार, संगठन र नेतृत्व तीनै तहमा सशक्त विद्रोह गर्न जरुरी छ — आफ्नै लागि, महिला पुस्ताका लागि र नेपालको समग्र लोकतन्त्र र लोकतान्त्रिक पद्धतिका लागि । यदि नेपाली राजनीतिक दलहरुले लोकतान्त्रिक र गुणात्मक परिवर्तन चाहने हो भने महिला नेतृहरुको कार्यकारी भुमिका स्थापित गराउन सम्पुर्ण नेपाली महिलाहरुलाई जागरुक बनाउन अत्यन्त जरुरी देख्छु । क्रमशः…. (लेखक नेकपा एमाले सर्लाहीका पूर्व जिल्ला उप–सचिव हुनुहुन्छ । )