दक्षिण एशियामा भारत सबैभन्दा ठूलो, जनसंख्यामा धनी, सैन्य शक्ति र कूटनीतिक प्रभावमा अगाडि रहेको मुलुक हो । तर विडम्बनानै मान्नु पर्छ । अधिकांश छिमेकीहरूसँग भारतको सम्बन्ध तनावपूर्ण देखिन्छ । पाकिस्तानसँगको कटुता पुरानै हो, तर बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स, भुटानसँग पनि भारतको सम्बन्ध चिसिने गर्दछ । त्यतिमात्रै हैन चीनसँग पनि बेला–बेला उसको मनमुटाव, असहमति र प्रतिस्पर्धात्मक सोच देखिन्छ । त्यै भएर प्रश्न उठ्छ, भारत किन आफ्ना छिमेकीहरूसँग मित्रता कायम राख्न सकिरहेको छैन ?
”भारतले पाकिस्तानलाई आतंकवादको स्रोत ठान्छ भने पाकिस्तान भारतको नियन्त्रणलाई गैरकानुनी भनी खण्डन गर्छ । यो विरोध कुनै समाधानतर्फ अघि बढ्नुभन्दा झन् गहिरो खाडल झैँ बनिरहेको छ ।”
![]()
जम्मु–कश्मीरको विषयमा पाकिस्तानसँग भारतको सम्बन्ध अत्यन्त जटिल छ । ऐतिहासिक रूपमा भारतमा मिसिएको यो राज्य पाकिस्तानका लागि अस्तित्वको मुद्दा बनेको छ । धार्मिक, रणनीतिक, जलस्रोत र भूगोलसँग जोडिएको यो मुद्दाले दुवै मुलुकलाई युद्ध र द्वन्द्वमा पु¥याएको छ । भारतले पाकिस्तानलाई आतंकवादको स्रोत ठान्छ भने पाकिस्तान भारतको नियन्त्रणलाई गैरकानुनी भनी खण्डन गर्छ । यो विरोध कुनै समाधानतर्फ अघि बढ्नुभन्दा झन् गहिरो खाडल झैँ बनिरहेको छ ।
भारतको नेपालसँगको सम्बन्ध भने सांस्कृतिक र ऐतिहासिक रूपमा नजिक भए पनि पछिल्लो समय सीमाविवाद, नक्सा प्रकरण, र राजनीतिक हस्तक्षेपको आरोपले सम्बन्ध चिसिएकै छ । नेपालमा भारत विरोधी भावना उब्जनुमा भारतको व्यवहारले नै भूमिका खेलेको आरोप लाग्ने गरेको छ । त्यस्तै भारतको बंगलादेशसँग सम्बन्ध प्रारम्भमा सुधारिएको भए पनि जलविवाद, शरणार्थी समस्या र सीमा सुरक्षा जस्ता विषयहरूले अझै पनि आपसी विश्वासलाई कमजोर पारिरहेका छन् ।
भारतको श्रीलंका र माल्दिभ्ससँगको सम्बन्धमा पनि बेला बखत दरार आउने गर्दछ । कारण चीनको बढ्दो प्रभावसँग भारतको असहजताले बेला बेला भारत श्रीलंका र माल्दिभ्ससँग पनि रिसाउने गर्छ । यी देशहरूले चीनसँग आर्थिक र पूर्वाधार साझेदारी बढाउँदै लगेका छन्, जुन भारतको ‘छिमेकी पहिलो नीति’ मा बाधक भइरहेको छ । भुटानजस्तो परम्परागतरूपमा भारत–पक्षधर मुलुकले पनि अब चीनसँग कूटनीतिक संवाद बढाउने संकेत दिएका छन्, जसले भारतलाई चिन्तित बनाएको छ ।
“यस्ता विविध द्वन्द्व र मनमुटावको मूलमा भारतको व्यवहारवादी कूटनीति, छिमेकी राष्ट्रप्रति देखिने असंवेदनशीलता र प्रायः ‘ठूलो दाजु’ शैलीको दृष्टिकोण देखिन्छ । भारतले प्रायः आफ्ना हितहरू प्राथमिकतामा राख्दै छिमेकीहरूको संवेदनशीलतालाई बेवास्ता गर्ने गरेको देखिन्छ ।”
यस्ता विविध द्वन्द्व र मनमुटावको मूलमा भारतको व्यवहारवादी कूटनीति, छिमेकी राष्ट्रप्रति देखिने असंवेदनशीलता र प्रायः ‘ठूलो दाजु’ शैलीको दृष्टिकोण देखिन्छ । भारतले प्रायः आफ्ना हितहरू प्राथमिकतामा राख्दै छिमेकीहरूको संवेदनशीलतालाई बेवास्ता गर्ने गरेको देखिन्छ । यसबाट उत्पन्न हुने असन्तोषलाई चीनले रणनीतिक रूपमा उपयोग गर्दै आएको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ(विआरआई) मार्फत चीनले भारतका छिमेकीहरूसँग सामरिक–आर्थिक साझेदारी बढाइरहेको छ ।
दक्षिण एसियामा भारतको स्थायित्व र उन्नतिको मुख्य आधार उसैका छिमेकीहरूसँगको सम्वन्धमा रहेको छ । यदि भारतले क्षेत्रीय नेतृत्वको दाबी गर्न चाहन्छ भने उसले साम, दाम, दण्ड, भेदको पुरानो शैली त्यागेर विश्वास, समर्पण र बराबरीको भावना प्रस्तुत गर्न सक्नु पर्दछ ।
भारतको छिमेकीहरूसँगको मनमुटाव केवल सीमा वा ऐतिहासिक मुद्दामा मात्रै सीमित छैन कि यो त विश्वासको संकट पनि हो । जबसम्म भारतले कूटनीतिमा आत्ममूल्यांकन गर्दैन, तबसम्म उसले छिमेकीहरूको भरोसा जित्न सक्दैन ।
यस्तो भरोसा विनाको सम्बन्ध दीर्घकालीन मित्रताको आधार बन्न पनि सक्दैन बरु दक्षिण एसियालाई अनिश्चितताको भूमरिमा राखिरहन्छ । (लेखक नेकपा एमाले सर्लाहीका पूर्व जिल्ला उप–सचिव हुनुहुन्छ । )