भाइरल पोष्ट, ईश्वरपुर
वैशाख ११ गते । जिल्लाको ईश्वरपुर नगरपालिका ६ रहेको ईश्वरपुर मनकामना बोर्डिङ्ग स्कुलले ‘बाल हक तथा अधिकारको सुनिश्तिता’ भन्ने नारासहित १९औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
स्कुलका संस्थापक सुदिप कार्कीको अध्यक्षता तथा ईश्वरपुर नगरपालिकाका प्रमुख मेयर मनोज कुमार आचार्यको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुको विचार प्रस्तुतीसहित शिक्षाको सुधारमा स्थानीय सरकारको योजनासहितको सवाल जवाफ कार्यक्रम र शिक्षभन्दा अगाडि संस्कार नामक पुस्तक विमोचन गर्दै स्कुल प्राङ्गणमै लोकतन्त्र दिवस मनाइएको हो ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा स्कुलका विद्यार्थीहरुले लोकतन्त्रको विषयमा आ–आफ्ना विचार प्रस्तुत गरेका थिए । उनीहरुको धारणापश्चात शैक्षिक विषयमा सवाल जवाफ गरिएको थियो । सो क्रममा विद्यार्थीहरुले नगर प्रमुख मनोज कुमार आचार्य र नगरका शिक्षा शाखा संयोजक दिनेश आचार्यलाई विद्यालयको पँहुचमा सबै बालबालिका अझै किन पुग्न सकेनन् ?, नगरको शैक्षिक योजनाहरु के–के छन् भनेर प्रश्न गरेका थिए । जवाफमा शिक्षा शाखा प्रमुख दिनेश आचार्यले विद्यार्थीले विद्यालय रोजेर पढ्न पाउने उनीहरुको अधिकार भएको बताउनुभयो ।
त्यस्तै स्कुलका संस्थापक सुदिप कार्कीले गरीबी र पैसा नभएकै कारण गरिव परिवारका विद्यार्थीले बिचैमा सर्टिफिकेट निकाल्न नपरोस् उदेश्यले ‘अण्डर म्यानेजमेण्ट अफ सुदिप कार्की’ छात्रवृछि योजना ल्याएको जानकारी दिनुभयो । निजी स्कुलमा विद्यार्थी तान्ने उदेश्यले छात्रवृत्ति योजना आएको त होईन ? भन्ने प्रश्नको खण्डन गर्नुहुँदै उहाँले बेलाबेलामा निजी विद्यालयहरुमाथि यस्तै खाले आरोपहरु लगाउने गरिएको भएपनि आफूहरुले ल्याएको छात्रवृति योजना सबै बालबालिकाले पढ्न पाउन् भन्ने निःस्वार्थ भावनाले नै ल्याएको बताउनुभयो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथी मनोज कुमार आचार्यलाई समेत विद्यार्थी र सञ्चारकर्मीहरुले प्रश्न राखेका थिए । जवाफमा नगर प्रमुख आचार्यले आफ्नो पाँच वर्षे कार्यकालको नगरको शैक्षिक सुधारसहित पाँच उदेश्य रहेको बताउनुभयो । उहाँले कार्यकालको पहिलो वर्ष नगरको स्वास्थ्य सुधारमा काम गरेको, दोस्रो वर्ष शिक्षा क्षेत्रको सुधारको वर्ष बनाएको जानकारी दिनुभयो । त्यस्तै उहाँले अहिले आफ्नो कार्यकाल तेश्रो वर्षमा चलिरहेकोले नगरमा कषि क्षेत्रको सुधारमा लागि रहेको बताउनुभयो । उहाँले चौथो वर्ष पुर्वाधारको वर्ष हुने र पाचौं वर्षमा बाँकी रहेको कामहरूको वर्ष घोषणा गरिने बताउनुभयो । उहाँले मधेस प्रदेशका एक हजार एक सय ७२ वडामा ईश्वरपुर वडा नं ४ को कुनै बच्चा विधालय बाहिर नरहेको बताउनुहुँदै अब भने संस्कार सहितको शिक्षामा अघि बढेको बताउनुभयो ।
कार्यक्रमकै अवसरमा नगर प्रमुख आचार्यले ‘शिक्षा भन्दा अगाडी संस्कार’ नामको पुस्तक विमोचन गर्नुभयो । यो पुस्तक सुदिप कार्की नेतृत्वको विद्यालयहरुमा पठनपाठनसमेत हुनेछ । पुस्तक विमोचन गर्नुहुँदै मेयर आचार्यले एक सय पुस्तक आफूले लिने बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख आचार्यसहित सञ्चारकर्मीहरुलाई स्कुलका संस्थापक सुदिप कार्कीले मायाको चिनो प्रदान गर्दै सम्मान गर्नुभएको कार्यक्रमका सञ्चालक तथा ईश्वरपुर मनकामना स्कुलका प्रिन्सीपल उदय बुढाथोकीले जानकारी दिनुभयो ।
नेपालमा २०६२÷६३ को दोश्रो जनआन्दोलन सफल भएको दिनको सम्झनामा हरेक वर्ष वैशाख ११ गतेलाई लोकतन्त्र दिवसको रुपमा मनाइने गरिएको छ ।