भाइरल पोष्ट, हरिपुर
वैशाख ७ गते । प्रथम मेयर कप फुटबल प्रतियोगिता जिल्लाको हरिपुरमा आजदेखि सुरु भएको छ । हरिपुर नगरपालिकाको आर्थिक सहयोगमा वडा नम्बर २ मा रहेको नव संघर्षशील युवा क्लबले प्रतियोगिताको आयोजना गरेको हो ।
सानो जगतपुरस्थित खेल मैदानमा हरिपुरका नगर प्रमुख गोपाल पजियारले प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । प्रतियोगिता अन्तरगत वडा नम्बर १ र वडा नम्बर २ को टिमबीच आज भएको पहिलो खेलमा आयोजक वडा २ विजयी भएको छ । निर्धारित समयमा एक÷एक गोलको बराबरीमा खेल सकेपछि खेल ट्राइ ब्रेकरमा गएको थियो । ट्राइ ब्रेकरमा पनि दुबै टिमबाट ४÷४ गोलको बराबरी भएपछि सडेनडेथमा आयोजक वडा २ ले जित हासिल गरेको क्लबका अध्यक्ष अमृत घिसिङले जानकारी दिनुभयो । पहिलो खेलको म्यान अफ दि म्याच आयोजक वडाका गोल रक्षक रोहन घिसिङ घोषित हुनुभएको छ । उहाँले ट्रफी समेत हात पार्नु भएको छ ।
प्रतियोगिताको दोस्रो खेल भोलि वडा नम्बर ३ र नम्बर ४ बीच हुनेछ । नगरका नौ ओटै टीमको सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले नगद ७५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद ४० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।