राजु तामाङ, हरिपुर
वैशाख ६ गते । जिल्लाको हरिपुरमा भोलिबाट प्रथम मेयर कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । हरिपुर नगरपालिकाको आर्थिक सहयोगमा हरिपुर २ सानो जगतपुरमा रहेको नव संघर्षशील युवा क्लबले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
शनिबार आयोजक नव संघर्षशील युवा क्लबको बोर्ड बैठक बसी प्रथम मेयर कप फुटबल प्रतियोगिता आइतवार नै सुरु गर्ने निर्णय गरेको क्वलले जानकारी दिएको छ । वडा नम्बर २ का वडाअध्यक्ष निलविक्रम थापाको प्रमुख आतिथ्यतामा बैठक बसी प्रत्येक वडाको खेल प्रतिनिधिको उपस्थितिमा प्रतियोगिताको टाइसिट गोलाप्रथाबाट बनाइएको छ ।
प्रतियोगितामा नगरपालिकाभित्रका ९ वटा वडाको ९ वटा टिम सहभागी हुनेछन् । नगर प्रमुख गोपाल पजियारले उद्घाटन गर्नुहुने प्रतियोगिताको भोलिको उद्घाटनमा खेलमा आयोजक वडा नम्बर २ सँग वडा नम्बर १ ले प्रतिस्पर्धा गर्ने आयोजक क्लबका अध्यक्ष अमृत घिसिङले जानकारी दिनुभयो ।
क्लवका अध्यक्ष घिसिङका अनुसार प्रतियोगिताको विजेता टिमले नगद ७५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले नगद ४० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।