भाइरल पोष्ट, बलरा
वैशाख ५ गते । जनमत पार्टीका सर्लाही इन्चार्ज युवा नेता श्रीचन यादव(सुजन)का पिता विष्णु राय यादवको निधन भएको छ ।
बलरा नगरपालिका ११ छटौनाका पुराना राजनीतिकर्मी तथा समाजसेवी यादवको ७५ वर्षको उमेरमा शुक्रबार अचानक निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उहाँको अचानक हृदयघातका कारण निधन भएको उहाँका छोरा श्रीचन यादव(सुजन)बताउनुभयो । उहाँलाई त्यस्तो कुनै रोग थिएन । ‘७५ वर्षको उमेरमा पनि उहाँ तगडा हुनुहुन्थ्यो । तर खै के भयो दैवको लीला उहाँलाई अचानक हृदयघात भयो । हतार हतार वीरगञ्ज लैजाँदै गर्दा बाटैमा परलोक हुनुभयो ।’, भावविह्वल हुँदै उहाँका छोरा सुजनले भन्नुभयो, ‘उहाँ मेरो आदर्श र भगवान हुनुहुन्थ्यो । तर उहाँलाई बचाउन सकिएन ।’
पारिवारिक स्रोतले जानकारी दिए अनुसार उहाँको शनिवार हिन्दु धार्मिक विधि अनुसार बागमती नदीमा अन्तिम दाहसंस्कार गरिनेछ ।
उहाँको जनमत पार्टीका सर्लाही ईन्चार्ज श्रीचन यादव(सुजन)सहित ३ छोरा, ३ छोरी र ८ जना नातिनातिनी छन् । श्रीमतीको भने झण्डै एक वर्ष अघि नै निधन भई सकेको छ ।