सोम दियाली, लालबन्दी
वैशाख ५ गते । भनिन्छ काम भनेको सानो या ठुलो भन्ने नै हुँदैन । तर हाम्रो समाजमा कतिपय कामहरु छन् जुन काम गर्न मानिसहरु हिचकिचाउने गर्दछन् । ती मध्येको एक हो चटपटे पानीपुरी व्यवसाय । चटपटे पानीपुरी खाँदा मिठो मानेर खाने गरिए पनि यही पेशा गर्न भने धेरै मानिसहरुलाई राम्रो नलाग्न सक्छ । तर हामीले सानो ठानेको यही व्यवसायले कतिको रोजीरोटी चलेको मात्रै छैन, धेरैलाई मालामाल समेत बनाई सकेमो छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिकाको वडा नम्बर ८ खाल्टे बजारका रमेश साह पनि चटपटे र पानीपुरी बेचेर परिवार पाल्ने मध्येमा पर्नुहुन्छ ।
घर नजिकैको खाल्टे बजार चोकमा रमेश साहको ठेला सधैंजसो लागि रहन्छ । ठेलामा उहाँ चटपटे र पानीपुरी बेची रहनुभएको देखिनुहुन्छ । चटपटे पानीपुर बेचेर उहाँले दैनिक ८ सय देखि १ हजार रुपैयाँसम्म आम्दानी गर्ने गर्नुभएको छ ।
हामी रमेश यादवको ठेलामा पुग्दा पानी परिरहेको थियो । उहाँ एउटा सानो झुपडीमा ओत लागि रहनु भएको थियो । पानी परि रहेकोले कोही पनि ग्राहक उहाँको ठेला वरीपरी थिएनन् । साँझ पनि पर्न लागि सकेको थियो । पानी परिरहेकोले हामी(म र पत्रकार कृष्ण थपलिया) पनि रमेश साह ओत लागेकै झुपडी मुनि ओत लाग्न पुग्यौं । यतिकै हामीले उहाँसँग उहाँको अनुभव सोध्यौं ।
उहाँका अनुसार सम्पतिको नाममा थोरै घडेरी र एउटा सानो घर बाहेक उहाँसँग अरु जायजेथा केही पनि छैन । र आम्दानीको अर्को भरपर्दो स्रोत पनि छैन । काम नगरी खान नपुग्ने रमेशले एक दिन मात्रै ठेला नचलाउने हो भने चुल्होमा आगो बल्न मुस्किल हुन्छ । दिनभरी बस्दा त्यही आठदश सय कमाई हुन्छ । त्यही लिएर उहाँ घर फर्कनुहुन्छ र त्यही पैसाले नून, तेल, सामल तुमलको जोहो गर्नुहुन्छ ।
छोटो बसाईमा रमेशले हामीलाई धेरै कुराहरु बताउनु भयो । उहाँ ६ वर्षजति विदेश पनि बसेर फर्किनु भएको रहेछ । उहाँ विदेशमा सिसा कम्पनीमा काम गर्नुहुन्थ्यो । महिनामा जसोतसो ३०÷३५ हजार जति बचाउनुहुन्थ्यो । तर दुर्भाग्य काम गर्ने सिलसिलामा लडेर उहाँको दुबै खुट्टाको गोलीगाँठा मुनि भाँचियो । भारी काम गर्न नसक्ने भएपछि उहाँ नेपाल फर्किनु भयो ।
भारी काम गर्न नसक्ने भएपछि फेरी पनि विदेश जाने उहाँको चाहना पुरा भएन । अब बाच्नका लागि केही न केही गर्नै पर्ने भएपछि उहाँले शरीरलाई खासै भार नपर्ने र दुई पैसा पनि देख्न पाउने काम चटपटे र पानीपुरी नै बेच्ने मनसाय बनाउनुभयो । अलि अलि पैसा जम्मा गरेर १५ हजारमा एउटा ठेला बनाए र घर नजिकैको खाल्टे चोकमा चटपटे बेच्न थाल्नु भयो ।
विस्तारै उहाँको चटपटे पानीपुर खान आउनेहरु बढ्न थाले । उहाँको कमाई राम्रो हुँदै गयो । महिनामा ३०/३५ हजार चटपटे पानीपुरीबाटै बचाउन थालेपछि भने रमेशलाई गरे नेपालमै कमाउन सकिने रहेछ भन्ने लाग्यो ।
त्यसपछि उहाँले यसैलाई निरन्तरता दिन थाल्नुभयो । उहाँले चटपटे पानीपुरी बेच्न थाल्नुभएको ६/७ वर्ष भयो । उहाँले यही चटपटे पानीपुर बेचेर एक श्रीमती र दुई छोराहरुको पालन पोषण गरिरहनु भएको छ ।
त्यसैले सम्भावना खोज्न टाढा जानै पर्दैन । मेहेनत गरे जहाँ बसेर पनि जे गरेर पनि राम्रो गर्न सकिन्छ ।