भाइरल पोष्ट, लालबन्दी
चैत्र २७ गते । स्वर्गिय पत्रकार सुरेश रजकको तेह्रौ पूण्यतिथीमा सर्लाहीसहित देशभर श्रद्धाञ्जली सभा आयोजना भएको छ ।
चैत्र १५ गते राजवादीको आन्दोलनका क्रममा तीनकुने स्थित एक घरमा लगाइएको आगोमा जलेर ज्यान गुमाएको पत्रकार रजकको सम्झनामा नेपाल पत्रकार महासंघमा आवद्ध पत्रकारहरुले दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभाको आयोजना गरेका हुन् ।
महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरको अध्यक्षतामा लालबन्दीस्थित व्यवसायिक कम्ल्पेक्समा दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो । सभालाई अध्यक्ष ठाकुरसहित पूर्वअध्यक्ष शंकर श्रेष्ठ, नेपाल प्रेस युनियनका अध्यष कृष्णप्रसाद थपलिया र वरिष्ठ फोटो पत्रकार रोहित पौडेलले सम्बोधन गर्नुभएको महासंघ सर्लाहीका सचिव सोम दियालीले जानकारी दिनुभयो ।
सो क्रममा प्रदेश सांसद एवम् पूर्वमन्त्री बेची लुंगेली, एकीकृत समाजवादीका सर्लाही अध्यक्ष सुरेन्द्र लामा लगायतले पत्रकार रजकको नाममा दीप प्रज्वलन गर्नुभएको थियो ।
त्यस्तै सदरमुकाम मलंगवामा पनि महासंघमा आवद्ध पत्रकारहरुले दीप प्रज्वलन गरी स्वर्गिय पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
महासंघले पत्रकार रजकले न्याय नपाउँदासम्म आफूहरुको आन्दोलन नरोकिने उद्घोष समेत गरेको छ । दीप प्रज्वलन तथा श्रद्धाञ्जलीसभा समेत दवावमूलक कार्यक्रम मध्येको एक रहेको महासंघले जनाएको छ । पत्रकार रजकको हत्यामा संलग्नहरुको खोजी गरी कार्वाही गर्न र रजकलाई न्याय दिन महासंघले चैत्र १८ गते नै सरकारलाई ७ दिने अल्टिमेटम दिएको थियो । तर सरकारले महासंघको माग अनुसार काम गर्न नसकेपछि २६ गते काठमाण्डौमा केन्द्रीय समितिको बैठकवसी देशव्यापी चरणवद्ध आन्दोलनको घोषणा गरेको थियो ।
विरोधका कार्यक्रम अन्तरगत २९ गते मानवअधिकार आयोगयमा ज्ञापनपत्र बुझाउने, ३१ गते १८ गतेको माग पुरा गर भन्दै सन्देश पठाउने लगायतका कार्यक्रमहरु रहेको महासंघले जनाएकोे छ । सर्लाही शाखाले पनि केन्द्रीय निर्णय अनुसार नै जिल्लामा विरोधका कार्यक्रमहरु गर्ने सचिव दियालीले बताउनुभयो ।