भाइरल पोष्ट, ईश्वरपुर
२५ चैत गते । देशकै ठुलो वन विकास परियोजना सागरनाथ वन विकास परियोजनाका कर्मचारीहरुले विगत ११ महिनादेखि तलब नपाएको बताएका छन् ।
गएको बैशाखदेखि तलब नपाउँदा दैनिक छाक टार्न समेत ऋण लिनुपरेको त्यहाँ कार्यरत कर्मचारीहरुले गुनासो गरेका छन् । उनीहरुले तलब माग गर्दै वन तथा वातावरणमन्त्री र नेपाल सरकारका मुख्यसचिवलाई पत्र काटेर हारगुहार समेत गरिरहेका छन् ।
सङ्घीय सरकारको वन तथा वातावरण मन्त्रालय मातहत रहेको वन पैदावार विकास समितिबाट आवश्यक नीतिगत निर्णय नहुँदा ११ महिनासम्म तलब नपाएको परियोजनाको मजदुर युनियनका अध्यक्ष सन्तोष साह तेलीले गुनासो गर्नुभयो । यो परियोजना सर्लाहीसहित महोत्तरी र रौतहट गरी तीन ओटा जिल्लाको १३ हजार ५१२ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
सङ्घ सरकार वा प्रदेश सरकार मध्ये कस्को मातहतमा रहने भन्ने विवादको भुमरीमा फसेको परियोजनामा कार्यरत निजामती कर्मचारीहरुले पछिल्ला केही वर्षयता यसरी नै महिनौसम्म तलबविहीन भएर काम गर्नु परिरहेको छ । परियोजनाका कर्मचारीहरुले एक हप्ताभित्र तलब नपाए आन्दोलनमा उत्रने चेतावनी दिएपछि परियोजनाका प्रमुख खेमलाल विश्वकर्मा वन तथा वातावरण मन्त्रीसँग भेट गर्न सङ्घीय राजधानी काठमाडौं हुँईकिनु भएको छ ।
परियोजना प्रमुख विश्वकर्माले गएको भदौदेखि वन पैदावार विकास समिति अध्यक्षविहीन रहेकाले नीतिगत निर्णय हुन नसक्दा कर्मचारीहरुले झण्डै एक वर्षसम्म तलबविहीन भएर काम गर्नु परेको बताउनुभयो । उहाँका अनुसार तलब नपाउँदा कर्मचारीहरुलाई छोराछोरी पढाउन, चाडबाड मनाउन, औषधी उपचार गर्न समेत समस्या हुने गरको छ । कर्मचारीहरुलाई तलब पाउने व्यवस्था मिलाउनकै लागि आफू मन्त्री भेट्न काठमाडौं पुुगेको परियोजना प्रमुख विश्वकर्माले बताउनुभयो ।
आफू परियोजना प्रमुख भएर आएपछि ५० क्यूबिकफिट काठ बिक्री गरेर डिजेल र पेट्रोलको पुरानो पैसा तिरेको र कर्मचारीलाई केही महिनाको तलब समेत खुवाएपनि त्यसपछि भने सङ्घीय सरकार मातहतको वन पैदावार विकास समिति नै पदाधिकारीविहीन बनेपछि तलब निकासा, परियोजनामा भएका काठ बिक्री तथा काठ कटानको काम ठप्प भएको विश्वकर्माले बताउनुभयो ।
सरकारले वन पैदावार विकास समितिको अध्यक्ष नियुक्त गर्न बेवास्ता गर्दा या भनौं नसक्दा सर्लाही, महोत्तरी र रौतहटमा फैलिएको सागरनाथ वन विकास परियोजना र झापामा रहेको रतुुवामाई वृक्षारोपण आयोजनाका कर्मचारी समेत लामो समयसम्म तलबविहीन हुनुु परेको छ ।
सागरनाथ वन विकास परियोजनामा हाल ९३ जना ज्यालादारी मजदुर र ४१ जना कर्मचारी कार्यरत छन् ।