भाइरल पोष्ट, मलंगवा
चैत्र २३ गते । संसारमा उही मान्छेको कदर हुन्छ, जो अरुको लागि बाँचेको हुन्छ । सर्लाहीमा पनि केही वर्ष यता डाक्टर गुणेश्वर झा यो नाम निकै चर्चामा छ । जिल्लाको ग्रामीण भेगसम्मका मानिसहरुले समेत डा.झा लाई समाजसेवीको रुपमा चिन्ने गरेका छन् ।
जिल्लामा समाजसेवी र मनकारी व्यक्तित्वको परिचय बनाउनु भएका डा. झाले जिल्लावासी, विपन्न, गरीब र असायहरुकोे सेवा गर्नु नै आफ्नो धर्म भएको बताउनु भएको छ ।
स्तुति सौम्या हेल्थ केयर मलंगवाका सञ्चालक समेत रहनु भएका डा. झा ले आफ्नो हेल्थ केयरमा आउने गरीब तथा विपन्न वर्गका विरामीहरुलाई उनीहरुको आर्थिक अवस्था हेरी निःशुल्क उपचार सेवा प्रदान गर्ने गरेको बताउनुभयो । त्यतिमात्रै हैन उहाँले यहाँ उपचार हुन नसक्नेहरुलाई सकेको सहयोग गरेर अन्यत्र उपचार गर्न पठाउने समेत गर्नुभएको छ ।

मिजासिलो स्वभाव, नम्र बोली र विरामीसहित सबैसँग प्रेमपूर्ण व्यवहार गर्नुहुने डा.झाले विगत देखि नै जिल्लाका विपन्न समुदायका मानिसहरुलाई हर तरहले सेवा गर्दै आउनु भएको छ । खाना, नाना र छानाको अभावमा पिल्सिएका नागरीकहरुदेखि उपचार सेवा नपाएकाहरु सहयोगमा समेत उहाँले आफूलाई सदैव समर्पित गर्नुभएको छ ।
नामै गुणेश्वर भएपछि काम पनि गुण लगाउने किसिमकै छ उहाँको । गरीब असहायहरुको सेवा गर्न पाउँदा आत्म सन्तुष्टी मिल्ने गरेको मनकारी एवम् समाजसेवी भावनाका धनी डा. झाले भाइरल पोष्टसँग बताउनुभयो ।
‘समृद्ध समाज निर्माण गर्न चाहनेले भाषण होइन काम नै गर्नुपर्छ ।’, उहाँ भन्नुहुन्छ,‘मधेशमा धेरै मानिसहरु समयमा राम्रो उपचार नपाएर अकालमै मृत्युवरण गरिरहेका छन् । उनीहरुको हितमा सोच्ने जनप्रतिनिधि र सरकार हुनुपर्छ । र मैले सुरु देखि नै समृद्ध सर्लाही निर्माण गर्ने अभियान थालेको छु । म मेरो अभियानमा प्रतिवद्ध र कटिबद्ध छु ।’
जनमत पार्टीको केन्द्रीय सदस्य समेत रहनुभएका डा.झा वीर अस्पताल काठमाण्डौका पूर्व डाक्टर हुनुहुन्छ । सरकारी अस्पतालबाट सेवा निवृत भएदेखि नै उहाँले जिल्लामा आएर गरीब र असहाय नागरीकको सेवा गरिरहनु भएको छ ।
डा.झा लाई भेट्दा भगवान नै भेटिएको महसुस हुने गरेको स्थानीयहरुले बताएका छन् । डा.झा को निःस्वार्थ सहयोग प्रति उच्च सम्मान उनीहरुले व्यक्त गरेका छन् ।