भाइरल पोष्ट, काठमाण्डौ
चैत्र २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने पक्राउ पर्नु भएको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा सभापति लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेसँगै उहाँ पक्राउ पर्नु भएको हो ।
उहाँलाई बुढानीलकण्ठस्थित घरबाटै प्रहरी टोलीले शुक्रबार राति पक्राउ गरेको छ । अदालतको आदेशपछि प्रहरी टोली लामिछाने निवास बुढानीलकण्ठ पुगेको थियो । उहाँले विभिन्न बहानामा अलमल गर्नुभएपछि प्रहरी झण्डै १ घण्टा लामिछाने निवासमा बस्नु परेको थियो ।
प्रहरी स्रोतका अनुसार उहाँलाई आज काठमाडौं प्रहरी परिसरमै राखिने र शनिबार कसरी रुपन्देही पठाउने भन्ने निर्णय भोलि नै हुने प्रहरी स्रोतले बतायो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । लामिछानेलाई थुनामै राख्न माग गर्दै सरकार रुपन्देही जिल्ला अदालतको आदेश बदर माग गर्दै उच्च अदालत पुगेको थियो ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीको आदेश बदर गरेको थियो ।
योसँगै गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश पनि उच्चले सदर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासका उपरजिस्ट्रार हरिगोपाल ज्ञवालीले जानकारी दिनुभयो ।