भाइरल पोष्ट, चन्द्रनगर
चैत्र २२ गते । विपद् व्यवस्थापन समिति सर्लाहीले बिहीवार चन्द्रनगरस्थित नाढीमन तालमा विपद्को पूर्वतयारी अभ्यास गरेको छ ।
विपद् व्यवस्थापन समिति सर्लाहीका संयोजक प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, भैरवीदल गणका प्रमुख सेनानी सूूर्यबहादुर कार्की, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द लगायतको उपस्थितिमा तालिम प्राप्त सुरक्षाकर्मीहरुको टोलीले ताल परिसरमा बाढी र आगलागिको समयमा पीडितहरुको उद्धार कसरी गर्ने भनेर अभ्यास गरेर देखाएका हुन् ।
अभ्यासका क्रममा उनीहरुले बाढी(ताल)मा डुबेका स्थानीयको ढुंगाको प्रयोग गरी उद्धार गरेर देखाएका थिए । त्यस्तै उनीहरुले ग्यास सिलिण्डरबाट सल्केको आगो निभाउने तौरतरिकाहरु समेत देखाएका थिए भने वस्तीमा लागेको आगो नियन्त्रण गर्ने र पीडितहरुको उद्धार गर्ने अभ्यास समेत गरेर देखाएका थिए ।
अभ्यास कार्यक्रमका क्रममा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी श्रेष्ठले विपदका समयमा कसरी तयारी अवस्थामा रहने, विपद आई हालेमा त्यसबाट कसरी जोगिने भनेर अभ्यास गरेर देखाइएको बताउनुभयो । त्यस्तै चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले अभ्यासको लागि प्राकृतिक नाढीमन ताललाई चयन गरेकोमा विपद व्यवस्थापन समितिलाई धन्यवाद दिनुभयो । उहाँले यो कार्यले सुकेको ताल पुनः पुर्ववत अवस्थामा फर्केको भनेर जानकारी दिने अवसर मिलेको समेत बताउनुभयो ।
उक्त अभ्यास कार्यको अध्यक्ष महतोसहित प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुले अवलोकन तथा निरीक्षण गर्नुभएको थियो ।