एसपी यादव, काठमाडौ
चैत २२ गते । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पुर्व मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले राजा र जनताको बीचको संघर्षमा अन्ततः जनताको जीत हुने बताउनु भएको छ । पार्टीको बागमती प्रदेश समितिद्वारा शुक्रबार खुसिबुँस्थित नेपा ब्याँक्वेटमा ‘पुर्नउत्थानवादी गतिविधिहरुको विरोध गरौं, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं’ भन्ने नाराका साथ वर्तमान राजनीतिक परिस्थितिका सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताउनुभएको हो ।
‘नेपालको इतिहासमा पनि राजा र जनताको संघर्ष पटक–पटक देखिएको छ । २००७ सालको क्रान्तिदेखि २०६२÷६३ को आन्दोलनसम्म जनताले नै राजतन्त्रलाई परास्त गर्दै लोकतान्त्रिक प्रणाली स्थापना भएको र अहिले नेपालमा गणतन्त्र स्थापनापछि पनि कहिलेकाहीँ राजसंस्थाको पुनस्र्थापनाको बहस उठ्ने गर्छ । तर संसारको ऐतिहासिक अनुभवले देखाएको छ, कि अन्ततः जनता नै निर्णायक शक्ति भएका छन् ।’, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।,‘गएको खोलो फर्किदैन अब देशमा राजा पनि फर्किने सम्भावना छैन । नेपालमा स्थापित गणतन्त्र स्थायी भइसकेको छ । नेपालले २०६२÷६३ को जनआन्दोलनपछि राजतन्त्र अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रा तय गरिसकेको छ । संविधानसभाबाट २०७२ सालमा जारी संविधानले गणतन्त्रलाई संस्थागत गरिसकेको छ । यसले लोकतन्त्र र जनताको सर्वोच्चतालाई पुष्टि गर्छ । यद्यपि कहिलेकाहीँ राजसंस्थाको पुनस्र्थापनाबारे बहस उठ्ने गर्छ, तर इतिहास हेर्दा एकपटक परिवर्तन भइसकेपछि त्यसलाई फर्काउने सम्भावना अत्यन्त न्यून हुन्छ ।’
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष श्रेष्ठले, देशमा पछिल्लो समय बढ्दै गएको पुर्नउत्थानवादी प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानको मर्म र भावना विपरीत भइरहेका गतिविधिहरूलाई रोक्न पार्टी सङ्घर्षरत रहेको समेत उल्लेख गर्नुभयो । प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र विज्ञहरूको मन्त्रिमण्डलको अवधारणालाई लागु गर्न समेत उहाँले जोड दिनुभयो । नेपालमा सुशासन, विकास र समृद्धि अहिलेको प्रमुख बहसको विषय भएको उहाँको धारणा रहेको थियो ।
चैत १५ गते तिनकुनेमा राजावादीहरूको प्रदर्शनले उग्ररूप लिएको, पत्रकार सुरेश रजकको हत्या भएको र गणतन्त्रविरोधी नाराहरू लागेका विषय हाल नेपाली राजनीतिमा निकै चर्चित र विवादास्पद रहेको उहाँले ठोकुवा गर्नुभयो । ‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संविधानतः स्थापित व्यवस्था हो । जसले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचानलाई स्वीकार गरेको छ । यस्ता विरोध प्रदर्शनहरूलाई कस्तो रूपमा हेर्ने भन्नेमा फरक मत हुन सक्छ, तर हिंसा र अमानवीय क्रियाकलाप कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
उहाँका अनुसार नेपालमा ७६१ सरकार (१ संघीय, ७ प्रदेश, ७५३ स्थानीय) को संरचना बनाइयो । तर त्यसको प्रभावकारी सञ्चालनमा समस्या देखिएको छ । भ्रष्टाचार, कमिशनतन्त्र र राजनीतिक हस्तक्षेपले संघीयताप्रति निराशा बढाउने मुख्य कारण बनेको छ । विभिन्न घोटाला जस्ता काण्डहरूले थप असन्तोष जन्माएको उहाँले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पार्टीका सह–अध्यक्ष एवं पुर्व मन्त्री रेणु यादवले, देशको भविष्यबारे प्रश्न उठाउँदै लोकतान्त्रिक प्रक्रियालाई नै सबैभन्दा सुन्दर व्यवस्था भएको बताउनुभएको छ । ‘नेपालको इतिहास हेर्दा जनताले विभिन्न आन्दोलनमार्फत व्यवस्था परिवर्तन गर्दै आएका छन् । चाहे त्यो राणा शासनको अन्त्य होस्, पञ्चायत हटाएर बहुदलीय व्यवस्था ल्याउनु होस्, वा गणतन्त्र स्थापनाका लागि भएको संघर्ष होस् । यी आन्दोलनहरूमा कैयौँ नागरिकले आफ्नो जीवन उत्सर्ग गरेका छन् । जसको सम्मान गर्न वर्तमान नेतृत्वले जनताको अपेक्षाअनुसार काम गर्न आवश्यक छ ।’,सहअध्यक्ष यादवले भन्नुभयो ।
उहाँले अबको प्रश्न भनेकै कुन शासन प्रणालीले देशलाई समृद्ध बनाउँछ ? लोकतान्त्रिक प्रक्रियालाई नै सर्वोत्तम भनेका छन्, जसको अर्थ नीति निर्माणदेखि सरकार सञ्चालनसम्म जनताको सहभागिता भएको हुन्छ भनेर प्रष्ट पार्नुभयो ।
सो अवसरमा जसपा बागमती प्रदेश अध्यक्ष जय गोलेले संघीयता, लोकतन्त्र र गणतन्त्रलाई जोगाउन प्रदेशस्तरीय नेतृत्वको भूमिका महत्वपूर्ण हुने बताउँदै प्रदेश समितिको क्रियाशीलताबारे जानकारी गराउनुभयो । उहाँले पुर्नउत्थानवादी शक्तिहरूलाई परास्त गर्न जनस्तरबाट सचेतना अभियान चलाउन आवश्यक रहेको उहाँले औंल्याउनुभयो ।
कार्यक्रममा जसपाका विभिन्न नेताहरूले हाल देशमा देखिएका राजनीतिक, आर्थिक तथा सामाजिक चुनौतीहरूबारे आ–आफ्नो धारणा राख्दै सरकारको कार्यशैलीप्रति आलोचना गर्दै संघीयता विरोधी गतिविधिहरूलाई निष्क्रिय पार्न सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
जसपा बागमती प्रदेश अध्यक्ष जय गोलेको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथिका रुपमा पार्टीका संघीय परिषद् अध्यक्ष एवं पुर्व मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ हुनुहुथ्यो भने विशिष्ट अतिथिका रुपमा पार्टीका केन्द्रिय समितिका सह– अध्यक्ष एवं पुर्व मन्त्री रेणु यादव, महासचिव एवं पुर्व मन्त्री इस्तियाक राइ, समाजवादी किसान महासंघका केन्द्रिय अध्यक्ष भाग्य नारायण राय, उपाध्यक्ष तबरेज अहमद, पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादव लगायत कार्यक्रममा जिल्ला, प्रदेश र केन्द्रिय तहका नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी थापाले राख्नुभएको थियो भने उद्घोषण अर्जुन कुवरले गर्नुभएको थियो ।