भाइरल पोष्ट, चन्द्रनगर
चैत्र २२ गते । जिल्लाको चन्द्रनगर गाउँपालिका मातहतको नाढीमन तालसहित एक दर्जनबढी पोखरीहरुको ठेक्का सम्झौता रकम नउठ्दा विकास निर्माण प्रभावित भएको छ ।
गाउँपालिकाका अध्यक्ष राजकुमार महतोका अनुसार ठेकेदारहरुले पालिका मातहतका नाढीमन तालसहित डेढ दर्जनजति पोखरीहरुको सम्झौता अनुसारको ठेक्का रकम नबुझाउँदा गाउँपालिकाको विकासका काम नै प्रभावित हुन पुगेको हो ।
उहाँले बक्यौता रकम बुझाउन ठेकेदारहरुलाई गाउँपालिकाले पटक पटक ताकेता गर्दा पनि ठेकेदारहरुले विभिन्न बहाना बनाउने गरे र उल्टै विभिन्न बहानामा मुद्धामामिला गर्ने गरेको बताउनुभयो । ‘ठेक्काको अबधि सक्कि सक्दा पनि ठेकेदारहरुले ठेक्का सकार गरेको रकम बुझाउनु भएको छैन । हामीले पटक पटक ताकेता गरिसकेका छौं । तर उहाँहरु विभिन्न बाहाना बनाएर बक्यौता रकम तिर्न आनाकानी गरिरहनु भएको छ ।’, पालिका अध्यक्ष राजकुमार महतोले सञ्चारकर्मीहरुसँग भन्नुभयो,‘ सम्झौता अनुसार नाढीमन तालसहित अन्य पोखरीहरुको समेत गरी ३ करोर ४१ लाख १४ हजार ६ सय १५ रुपैया ठेक्का बापतको रकम उठ्न बाँकी छ ।’
उहाँका अनुसार नाढीमन तालको मात्र झण्डै १ करोर ८९ लाख ठेक्का बापतको रकम ठेकेदारले तिरेका छैनन् । तालको ठेक्का गाउँपालिकाकै वडा नम्बर –६ का दुलार मुखियाले लिनुभएको थियो । पालिकाका अन्य पोखरीहरू पनि ३ करोर ४१ लाखमा ठेक्का लागेका थिए । पोखरीहरूको ठेक्का बापत करिबकरिब २ करोर २७ लाख पालिकाले प्राप्त गरेको भएपनि अरू उठ्न नसकेको पालिका अध्यक्ष महतोले सञ्चारकर्मीहरुलाई सुनाउनुभयो ।
उहाँले ठेकेदारले समयमा रकम नबुझाउँदा सरकारले झण्डै १ करोर १४ लाख रुपैयाँ राजश्व प्राप्त गर्न नसकेको बताउनुभयो ।
उहाँले ठेकेदारले ठेक्का वापतको रकम नबुझाउँदा वडा नम्बर –२ पर्ति बजारमा निर्माण सम्पन्न भइसकेको १५ शैयाको गाउँ अस्पताल समेत सञ्चालनमा ल्याउन नसकिएको बताउनुभयो । त्यस्तै नाढीमन तालसहित अन्य पोखरीहरुको सौन्दर्यकरणमा समेत काम गर्न नसकिएको बताउनुभयो ।
उहाँले ठेकेदारहरुबाट पाउनु पर्ने पोखरी ठेक्काको बाँकी रकम असुल उपर गरिदिन आफुले जिल्ला प्रशासन कार्यालयलाईसमेत आग्रह गरेको बताउनुभयो । जिल्ला प्रशासनले पोखरी ठेकेदारहरूलाई छलफलमा बोलाई बाकी बक्यौता तिर्न आग्रह गरेपनि ठेकेदारहरूले अटेर गरिरहेको अध्यक्ष महतोको भनाई छ ।
६ करोर २० लाख रुपैयामा नाढीमन तालको ठेक्का लिएका दुलार मुखियाले ठेक्का लिएकै वर्षमा बाढीले माछा बगाएको, त्यसपछि कोरना महामारीका कारण लकडाउन भएर माछा बेच्न नपाएको कारण आफुहरुले गाउँपालिकालाई सम्झौता अनुसारको बाँकी रकम तिर्न नसकेको बताउँने गरेको गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो । अध्यक्ष महतोका अनुसार उनीहरूले ठेक्का बापतको रकममा छुट मागिरहेका छन् ।
पटकपटक ठेकेदारहरूले अटेर गरिरहेकाले कानुनी प्रक्रिया मार्फत रकम असुल उपर गर्न गाउँपालिका अग्रसर भएको पालिका अध्यक्ष महतोले बताउनुभयो ।