भाइरल पोष्ट, लालबन्दी
चैत्र २२ गते । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले अहिलेको व्यवस्था ल्याउनुमा सञ्चारकर्मी र सञ्चारगृहको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
सर्लाहीको लालबन्दीस्थित युनाईटेड होटलमा सम्पन्न स्थानीय तहको कानून तर्जुमा सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले गृह, सञ्चार तथा कानून मन्त्रालयले मधेश प्रदेशका सञ्चार माध्यमहरुलाई सबल बनाउने विषयमा एक हप्ताभित्र कार्यदल बनाएर काम थालिने बताउनुभयो । व्यवस्था परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चार माध्यमहरु नै अहिले चरम आर्थिक संकटमा गुज्रिरहेकोले सञ्चार माध्यमहरुलाई सबल बनाउने दायित्व सरकार भएकोले आफू मातहत मन्त्रालयले कार्यदल बनाएर काम गर्न लागेको मन्त्री लेखीले बताउनुभयो ।
त्यस्तै उहाँले अहिलेको व्यवस्था जनताको बलिदानी र लामो संघर्षबाट प्राप्त भएको बताउनुहुँदै नेतृत्वको बोली एउटा र व्यवहार अर्को भै दिनाले बेलावखत नागरीकमा असन्तुष्टी देखिने गरेको बताउनुभयो । उहाँले केही असन्तुष्टीका बावजुद पनि अहिलेको व्यवस्था नै उत्तम व्यवस्था भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो,‘आजभन्दा २०÷३० वर्षअघि जनताले आफू अनुकुल ऐन, नियम र कानूनहरु बनाउन पाउने व्यवस्था थिएन । जनताले आफ्नो अधिकारको प्रयोग गर्न पाएको अवस्था थिएन । तर अहिले गरीब, दलित, आदिवासी जनजाति, मधेसी सबै नागरीकले आफ्नो लागि आफै ऐन, नियम, कानून बनाउन पाउने भएका छन् । र अधिकारको प्रयोग गर्न पाउने भएका छन् । यो भनेको यही व्यवस्था अर्थात संघीयताको सुन्दर पक्ष हो ।’
उहाँले नेपाल जस्तो बहुभाषिक, बहुधार्मिक देशका संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा उत्तम व्यवस्था अर्को हुनै नसक्ने बताउनुभयो ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा स्थानीय तहको कानून तर्जुमा सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रममा जिल्लाका २०ओटै पालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गृह, सञ्चार तथा कानून मन्त्रालयका कानून अधिकृत उपसचिव गणेश नायकसहित जिल्ला अदालत सर्लाहीका न्यायधिश, मुख्यमन्त्री कार्यालयका प्रदेश सचिवले सहजीकरण गर्नुभएको थियो । https://youtu.be/cOyvz1JLSIw