भाइरल पोष्ट, हरिवन
चैत्र १६ गते । हरिवनमा जारी चार दिने डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी मेला सकिएको छ । हरिवन नगरपालिकाले बुधबारदेखि शनिवारसम्म आयोजना गरेको मेलाको आज विधिवत समापन गरिएको हो ।

नगर प्रमुख रमेश बुढाथोकी(कमल)को अध्यक्ष तथा मधेश प्रदेशका कृषि सचिव डा. उमेश दाहालको प्रमुख आतिथ्यतामा भएको मेला समापनको अवसरमा ५८ जना कृषिउद्यमीसहित हरिवन नगरपालिकाका स्वास्थ्यकर्मी, कर्मचारी तथा नगर प्रहरीहरुलाई समेत सम्मान गरिएको नगर प्रवक्ता समेत रहनुभएका मेला प्रचार प्रसार समिति संयोजक शम्भु प्रसाद मैनालीले बताउनुभयो ।
उहाँका अनुसार मेला अवधिभर ३० हजार बढीले मेलाको अवलोकन गरेका थिए भने चार दिने मेलामा साँढे तीन करोड बढीको आर्थिक कारोवार भएको छ । संयोजक मैनालीले आफूहरुले अपेक्षा गरेभन्दा कमले मेलाको अवलोकन गरेको भएपनि हरिवनसहित मधेश प्रदेशका धेरै कृषक र कृषि उद्यमीहरुलाई मेलाबाट भरपुर फाईदा पुगेको भाइरल पोष्टसँग बताउनुभयो ।
‘५० हजार बढीले मेलाको अवलोकन गर्ने हाम्रो अनुमान थियो । हामीले अपेक्षा गरे जति त भएन तर किसानले भने मेलाबाट राम्रो फाईदा लिएका छन् ।’, प्रचार प्रसार समिति संयोजक मैनालीले भन्नुभयो,‘गर्मी र चर्को घामको कारण धेरै किसानहरु मेलास्थलसम्म आउन सक्नु भएन । किनकी मेलाको समय नै यस्तै समयमा भयो । हामीले अलि अगाडि नै मेला आयोजना गर्नु पर्ने थियो । तयारी गर्दा गर्दै ढिलो हुन पुग्यो र सोचेजस्तो अलि भएन ।’
त्यस्तै मेला समितिका संयोजक वडा नम्बर ४ का अध्यक्ष केशवराज थापा(बाबु)ले कृषिमा भित्रिएको नयाँ नयाँ प्रविधिको किसानले अवलोकन गर्न पाएको बताउनुभयो । प्रदर्शनीमा माटो तथा गोवर परिक्षण शिविर, कृषिविज्ञहरुसँगको अन्तरक्रिया लगायतका कार्यक्रमहरु समेत राखिएकोले किसानहरुलाई यसले फाईदा पुगेको विश्वास व्यक्त गर्नुभयो । उहाँले मेला आयोजनाको समय उपयुक्त नभएकोले सोचेजस्तो नभएपनि ३०हजार बढीले मेलाको अवलोकन गर्नुलाई राम्रै मान्न सकिने बताउनुभयो । उहाँले आगामी वर्षहरुमा उपयुक्त समय तोकेर मेला आयोजना गरिने र बढीभन्दा बढी किसानलाई मेला अवलोकनको अवसर प्रदान गर्ने बताउनुभयो ।
मेलामा स्थानीय किसानहरुले उत्पादन गरेका कृषि सामाग्री, दुग्धजन्य सामाग्री तथा कृषि औजारहरु प्रदर्शनमा राखिएका थिए । त्यस्तै राष्ट्रिय स्तरका ख्यातिप्राप्त लोक गायक राजु परियारको टिमको सांगितिक प्रस्तुती समेत राखिएको थियो ।
समापन कार्यक्रममा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान, प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयाल, मेला संयोजक केशवराज थापा(बाबु), मेला प्रचार प्रसार समिति संयोजक शम्भु प्रसाद मैनाली लगायतको आतिथ्यता रहेको थियो ।