भाइरल पोष्ट, सर्लाही
चैत्र १६ गते । राजसंस्था फर्काउन भन्दै भएको आन्दोलनको क्रममा तिनकुनेस्थित एक घरमा लागेको आगोमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएपछि सर्लाहीसहित देशभरका पत्रकारहरुले घटनाको विरोध गरेका छन् ।
नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको निणर्य अनुसार नै प्रदेश तथा जिल्ला शाखाहरुले समेत पत्रकार रजकको हत्याको विरोधमा जिल्ला जिल्लामा विरोध तथा शोक सभाको आयोजना गरेका हुन् ।
यसैक्रममा नेपाल पत्रकार महासंघ सर्लाही शाखाले पनि जिल्ला सदरमुकाम मलंगवामा विरोध तथा शोकसभा गरेको छ । शाखा अध्यक्ष ओमप्रकाश ठाकुरको नेतृत्वमा जिल्लाभरबाट मलंगवा पुगेका पत्रकारहरुले जिविस चोकबाट विरोध ¥याली गरेर बालमन्दिर हुँदै मलंगवा नगर परिक्रमापछि जिल्ला प्रशासन कार्यालय अगाडि आई कोण तथा शोकसभा गरेको थियो ।
पत्रकार मार्न पाईँदैन ।, प्रेसमाथिको आक्रमण बन्द गर ।, सुरेश रजकको हत्यारालाई कार्वाही गर । लगायतका नारा लगाउँदै उनीहरुले पत्रकार सुरेश रजक हत्या घटनाको घोर भत्र्सना गरेका थिए । ‘यो हाम्रो सांकेतिक विरोध हो । सुरेश रजकलाई न्याय दिन र प्रेस तथा पत्रकारमाथिको आक्रमण बन्द गर्न हामी सरकारलाई जोडदार रुपमा माग गर्दछौं ।’ शाखा अध्यक्ष ठाकुरले भन्नुभयो ।,‘केन्द्रीय निर्देशन बमोजिम थप विरोधका कार्यक्रमहरु गर्नेछौं ।’ उहाँका अनुसार महासंघले आफ्नो ७०औं स्थापना दिवस मनाउने तयारी गरिरहेको थियो । तर आन्दोलनको समाचार संकलनका क्रममा पत्रकार मारिएपछि शोक सभा गर्न बाध्य भएको हो । उहाँले चैत्र १५ गते पत्रकारिताको इतिहासमा कालो दिनको रुपमा दर्ज भएको बताउनुभयो ।
शोकसभालाई सम्बोधन गर्नुहुँदै नागरीक समाजका अगुवा शिवचन्द्र चौधरीले सामाजिक सञ्जाल तथा समाचारहरुमा आएका सामाग्री हेर्दा पत्रकार रजकको सुनियोजित हत्या भएको जस्तो देखिएको बताउनुभयो । उहाँले प्रेस तथा पत्रकारमाथि आक्रमण गर्ने कसैको जित नहुने बताउनुभयो । उहाँले घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कडाभन्दा कडा कार्वाही गर्न माग गर्नुभयो ।
त्यस्तै महासंघका पूर्व अध्यक्ष शंकर श्रेष्ठले पत्रकारमाथिको आक्रमण निन्दनीय रहेको भन्नुहुँदै गणतन्त्र नभई गणतन्त्र हाक्नेहरुको विरोध गर्न आग्रह गर्नुभयो । ‘गणतन्त्र आफैमा नराम्रो व्यवस्था होइृन । यसलाई चलाउने टाउकेहरुले विगारेका हुन् । यिनीहरुको विरोध गरौं ।’,पुर्व अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
शोकसभा कार्यक्रमको सञ्चालन गर्नुभएका महासंघ सर्लाहीका सचिव सोम दियालीले महासंघले देशव्यापी आन्दोलनको कार्यक्रम घोषणा गरिसकेकोले आफूहरु केन्द्रीय सर्कुलर अनुसार नै विरोधका कार्यक्रम गर्ने बताउनुभयो । उहाँका अनुसार केन्द्रले आईतबार कालो पट्टी बाँधेर विरोध गर्ने, सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र पठाउने कार्यक्रम तय भएको छ ।
विरोध सभामा महासंघका पूर्व अध्यक्ष टंक क्षेत्री, नेपाल प्रेस युनियनका अध्यक्ष कृष्ण प्रसाद थपलिया, सचिव रामबाबु खड्का, नेपाल पत्रकार महासंघकी सर्लाही उपाध्यक्ष बन्दना झा, कोषाध्यक्ष घनश्याम सिंहलगायत जिल्लाका विभिन्न संचारगृहमा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।