राजु तामाङ, हरिवन
चैत १५ गते । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको निर्णय विरुद्ध देशैभरि प्रदर्शन भैरहेको छ । यसैबीच आज सर्लाहीमा पनि कुलमानको पद बहालीको माग राख्दै शान्तिपुर्ण प्रदर्शन भएको छ ।
हरिवन र बागमती नगरपालिका भित्र सञ्चालनमा रहेको अटो चालकहरुको संस्था सर्लाही टेम्पु नेपाल प्रा. लि. ले कुलमानको समर्थनमा प्रदर्शन गरेको हो । उनीहरुले साहसी कुलमान उज्यालोको भगवान, विद्युत प्राधिकरणमा कुलमान नै छ खाँचो जनतालाई सोधे हुन्छ यही कुरा हो साँचो, लोडसेडिङ हटेकै हो कुलमान खटेकै हो, घाटामा छ भन्थे पहिले फाइदा भाछ अहिले, भ्रष्टचारमा मात्र प्रशंय जहिले राम्रो मान्छे चिन्ने कहिले, प्राधिकरणको भविष्य कुलमानको हातमा छ चलखेल गर्न खोज्या भन्ने लाखौं जनतालाई थाहा छ भन्ने नाराहरु घन्काउँदै पश्चिम बागमती पुलदेखि पुर्वमा फुलजोरसम्म अटोमा य्राली गरेको आयोजकले जनाएको छ ।
करिब एक सयवटा अटो सहित दिउँसो य्राली निकालिएको थियो । राज्यबाट सम्मान पाउनुपर्ने व्यक्तिलाई दुई तिहाइ सरकारको दम्भले उल्टै बर्खास्त गरेको छ उनको समर्थनमा देशैभर जनदबाब स्वरुप विभिन्न प्रदर्शनहरु भैरहेको छ ।