भाइरल पोष्ट, ईश्वरपुर
चैत्र १४ गते । सर्लाहीको ईश्वरपुरका एक दानवीरले विद्युत प्राधिकरणलाई ३० धुर जग्गा दान गर्नुभएको छ । ईश्वरपुर नगरपालिका ७ का दानवीर केशव सिंहले आफ्नो नाममा चलनचल्तीमा ६० लाख मूल्य पर्ने ३० धुर जग्गा प्राधिकरणको नामा पास गराई दिनुभएको हो ।
उहाँले नेपाल विद्युत प्राधिकरण लालबन्दीको वितरण केन्द्र ईश्वरपुरका प्रमुख त्रिभुवन कुमार यादवलाई आफ्नो ईश्वरपुर ३(क) को कित्ता नम्बर १३०८ कित्ताबाट ३० धुर जग्गा पास गरेर सो को पूर्जा हस्तान्तरण गर्नुभएको छ । अब प्राधिकरणको नामको जग्गाको कित्ता नम्बर ईश्वरपुर (क) १५६४ भएको छ ।
दाता सिंहले समाजको विकासमा सबैको योगदान उत्तिकै हुने महसुस गर्दै वितरण केन्द्रलाई फ्यूज सेवा संचालनका लागि जमिन आवश्यक रहेको जानकारी पाएपछि उक्त जमिन प्रदान गरेको बताउनुभयो ।
ईश्वरपुर ७ का वडाअध्यक्ष नाथुराम चौधरीले दानवीर केशव सिंहले वितरण केन्द्रलाई प्रदान गर्नु भएको जग्गाको चलनचल्ती अनुसार ६० लाख रुपैयाँ पर्ने बताउनुभयो । प्रारम्भिक रूपमा फ्यूज सेवा निर्माणका लागि प्रयोग गरिने यस जमिनमा आगामी दिनमा प्राधिकरणको प्रशाखाको रूपमा विकास गर्ने योजना रहेको लालबन्दी वितरण केन्द्रले जनाएको छ ।
लालबन्दी वितरण केन्द्रका अनुसार, ईश्वरपुर नगरपालिका क्षेत्रभित्र मात्र करिब १३ हजार विद्युत ग्राहक रहेका छन् । यहाँ केही समयअघि मात्र औद्योगिक लाइन विस्तारको काम सम्पन्न भइसकेको भएपनि औपचारिक रुपमा उदघाटन गर्न भने बाँकी छ । वितरण केन्द्रलाई दानमा जमिन प्राप्त हुनु विद्युत सेवा र गुणस्तर सुधारका लागि ठूलो उपलब्धि भएको उद्योग वाणिज्य संघ ईश्वरपुरका सचिव सन्तोष रायले बताउनुभयो ।
सर्लाहीको औद्योगिक हव मानिने ईश्वरपुरमा साना–ठूला गरी करिब ५३ उद्योग संचालनमा छन् । जमिन प्राप्त भएपछि नजिकै भवन निर्माण गरी फ्यूज सेवा सञ्चालन गर्दा कर्मचारीहरू निरन्तर उपस्थित भई सेवा प्रवाहमा सुधार आउने व्यवसायीहरूको अपेक्षा छ ।