भाइरल पोष्ट, ईश्वरपुर
चैत्र १३ गते । नेपाल नेत्रज्योति संघको स्थापना दिवसको अवसरमा निःशुल्क आँखा जाँचसहित चश्मा वितरण गरिएको छ ।
जिल्लाको ईश्वरपुर नगरपालिका–९ मा रहेको आँखा उपचार केन्द्रले संघको ४७औं स्थापना दिवसको अवसर पारेर एक दिवसीय निःशुल्क आँखा जाँच सहित चश्मा वितरण गरेको हो ।
‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारीः आँखा सेवामा साझेदारी’ भन्ने मूल नाराका साथ संघले ४७औं स्थापना दिवस भव्य रूपमा मनाउने क्रममा यहाँ भने निःशुल्क आँखा परिक्षणसहित चश्मा वितरण गरिएको संघले जनाएको छ ।
संघ अन्तरगतको आँखा उपचार केन्द्र ईश्वरपुरका उपाध्यक्ष प्रकाश मैनालीको अध्यक्षता तथा ईश्वरपुर नगरपालिकाका उपप्रमुख रञ्जितादेवी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आँखा उपचार केन्द्रका प्रमुख चन्दनमणि रामले कार्यक्रमको उद्देश्य र उपलब्धिहरूबारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रम विशेष गरी सामुदायिक, निजी विद्यालय, मदरसा, गुम्बा, गुरुकुलका शिक्षक÷शिक्षिका तथा जिल्लाका सञ्चारकर्मीहरूलाई लक्षित गरी सञ्चालन गरिएको थियो उपाध्यक्ष मैनालीले बताउनुभयो । उपाध्यक्ष मैनालीका अनुसार, कार्यक्रमको उद्देश्य शिक्षक र सञ्चारकर्मीहरूलाई आँखासम्बन्धी समस्याबाट जोगाउने तथा उनीहरूको स्वास्थ्य सुधारमा योगदान पु¥याउने रहेको थियो ।
शिविरमा २३७ जनाले आँखा परीक्षण गराएका थिए, जसमध्ये १०७ जनालाई चश्मा वितरण गरिएको थियो । कार्यक्रमबाट स्थानीय शिक्षक तथा पत्रकारहरूले प्रत्यक्ष लाभ लिएको आयोजकले जनाएको छ ।