भाइरल पोष्ट, हरिवन
चैत्र १२ गते । मधेश प्रदेशस्तरीय तेश्रो डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी मेला चैत्र १३ गतेदेखि १६ गते सम्म हरिवनमा हुने भएको छ ।
मधेश प्रदेशको शान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान भन्ने नाराका साथ हरिवन नगरपालिकाले प्रदेश कृषि मन्त्रालय, प्रदेश दुग्ध विकास बोर्ड र अन्य संघसंस्थाको समन्वयमा हरेक वर्ष झै मेला आयोजना गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
हरिवन नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा हरिवनकी उपमेयर हरिमाया घलान, प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयाँल, वडा नम्बर ४ का वडाअध्यक्ष समेत रहेका मेला संयोजक केशवराज थापा, मेलाको प्रचार प्रसार समिति संयोजक एवम् नगर प्रवक्त शम्भु मैनाली, हरिवन ११ का वडाअध्यक्ष शेख मेहबुब रेजा, २ का वडाअध्यक्ष अर्जुन योन्जन, ८ का वडाअध्यक्ष प्रज्वल ढुंगाना, ९ का वडाअध्यक्ष कोकिलानन्द उप्रेतीले संयुक्त रुपमा पत्रकार सम्मेलन मार्फत मेला सफल बनाई दिन सबै पक्ष र सरोकारवालाहरुलाई आग्रह गर्नुभएको थियो ।
मेलामा कृषि, डेरी तथा दुग्धजन्य उत्पादन, कृषि औजारहरुको प्रदर्शनी रहने छ । त्यस्तै मेलामा माटो परिक्षण शिविर, गोबर परिक्षण शिविर, कृषिवाली तथा पशु विमा सम्बन्धी अन्तरक्रिया, गुणस्तर नापतौल कार्यालयसँग अन्तरक्रिया, कृषि औजारको बजारीकरणसँग अन्तरक्रिया लगायत उत्कृष्ट किसानलाई पुरस्कृत गरिने कार्यक्रम समेत राखिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रले उद्घाटन गर्नु हुने मेलाको सह–आयोजकहरुमा हरिवन उद्योग वाणिज्य संघ, हरिवन चेम्वर अफ कमर्स, जेसिआई हरिवन सिटी, नेपाल कृषि मेशिनरी सामाग्री व्यवसायी संघ काठमाण्डौ र हरिवन सहकारी सञ्जाललगायत रहेका छन् । त्यस्तै मेलाको कृषकहरुसहित कृषि सहकारी, नगरका प्रतिनिधि, नीति निर्माता, कृषि वैज्ञानिकहरु, कृषि उद्यमीलगायत ५० हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
हरिवन ११ स्थित सुर्ति विकास खेल मैदानमा मेलाको आयोजना गर्न लागिएको मेलाको अन्तिम तयारी पूरा भएको छ ।