भाइरल पोष्ट, हरिवन
चैत्र ११ गते । क्षयरोग सम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शनसहित सर्लाहीको हरिवनमा विश्व क्षयरोग दिवस मनाईको छ ।
हरेक वर्ष मार्च २४ का दिन विश्वभरी मनाउने गरिएको क्षयरोग दिवस हरिवन नगरपालिकाले भने वडा नम्बर ५ घुर्कौलीस्थित वडाकार्यालय अगाडि सचेतनामूलक सडक नाटक प्रदर्शन गर्दै मनाएको हो । 
हो, हामी अन्त्य गर्न सक्छौं । लगानीको प्रतिवद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता भन्ने नाराका साथ स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षकशिक्षिका, विद्यार्थी, सुरक्षाकर्मी, स्थानीयले हरिवन नगरपालिका कार्यालयबाट ¥यालीसहित वडा नम्बर ५ को कार्यालय अगाडि पुगेर भव्य रुपमा दिवस मनाएको हो ।
वडा नम्बर ५ का वडाअध्यक्ष नागेन्द्र कुमार साहको अध्यक्षता तथा हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयालको प्रमुख आतिथ्यतामा भएको क्षयरोग सम्बन्धी कार्यक्रममा सिन्धुली कला घरका कलाकारहरुले क्षयरोग सम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको थियो । नाटकले क्षयरोग देखिनासाथ नजिकैको स्वास्थ्य संस्था वा अस्पताल गएर उपचार गराउनु पर्छ भन्ने सन्देश दिएको थियो । त्यस्तै नाटकमा बालविवाह र मोवाईलको प्रयोगले किशोरकिशोरीमा परेको असरका विषयमा समेत सन्देश दिएको थियो ।
नाटक प्रदर्शनपछि कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले क्षयरोगको हालको अवस्थाको बारेमा प्रष्ट पार्नु भएको थियो ।
त्यस्तै प्रमुख अतिथी हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयालले हरिवनमा क्षयरोग अन्त्यका लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले क्षरोग अन्त्यका लागि संकल्प पत्रमा समेत हस्ताक्षर गर्नुभयो ।
त्यस्तै वडा नम्बर ५ का पडाअध्यक्ष नागेन्द्र कुमार साहले वडाकार्यालय रणनीतिक योजना बनाएर वडावडाबाट क्षयरोग निमूल पारेर मात्रै नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउन सकिने बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ६ का वडाअध्यक्ष सन्तलाल घिसिङ्ग, सोही वडाका पूर्व वडाअध्यक्ष प्रह्लाद बुढाथोकी, महादेव जनता नमूना माविका पूर्व प्रअ जयशंकर सिंह, नगरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थय स्वयमसेविका, विभिन्न विद्यालयका विद्यार्थीलगायतको सहभागिता रहेको थियो । विद्यालय नर्स लक्ष्मी आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन नगर क्षयरोग अधिकृत रोशनी घतानीले सञ्चालन गर्नुभएको थियो ।
हरिवन नगरपालिकाले देशकै पहिलो क्षयरोग मुक्त नगरपालिका बनाउने उदेश्यका साथ क्षयरोगका गतिविधिहरुलाई तिब्र रुपमा सञ्चालन गरिरहेको छ ।