भाइरल पोष्ट, लालबन्दी
चैत्र ११ गते । समुदाय स्तरमा क्षयरोग कार्यक्रमको कार्यन्वयन गर्नेमा नगर अस्पताल लालबन्दी देशकै उत्कृष्ट घोषित भएको छ ।
विश्व क्षयरोग दिवसका अवसरमा आज काठमाण्डौमा आयोजित एक भव्य कार्यक्रममा नगर अस्पताल लालबन्दीलाई उत्कृष्टताको प्रमाण पत्र प्रदान गरिएको छ । उत्कृष्टताको प्रमाण पत्र लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीले स्वास्थ्यमन्त्री प्रदीप पौडेलबाट ग्रहण गर्नु भएको थियो ।
क्षयरोग न्यूनिकरण र यस सम्बन्धी कार्यक्रम समुदाय स्तरमा कार्यन्वयन गर्ने स्वास्थ्यकर्मी तथा अस्पतालहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा मधेश प्रदेशबाट स्वास्थ्यकर्मीतर्फ औरही गाउँपालिकाका एक स्वास्थ्यकर्मी उत्कृष्ट स्वास्थ्यकर्मी घोषित हुनुभएको थियो भने संस्थागत तर्फ नगर अस्पताल लालबन्दी देशभरीमै उत्कृष्ट घोषित भएको हो ।
स्वास्थ्यकर्मीहरुको मेहनतको प्रतिफल प्राप्त हुँदा अत्यन्तै गौरब महसुस भएको नगर अस्पतालको तर्फबाट सम्मान पत्र ग्रहण गर्न पुग्नु भएका लालबन्दी नगर प्रमुख बासुदेव अधिकारीले बताउनुभयो । उहाँले सबै स्वास्थ्यकर्मीहरुसहित लालबन्दी नगरवासीलाई बधाई दिनुहुँदै स्वास्थ्यकर्मीहरुको अथक मेहनतलाई उच्च सम्मान व्यक्त गर्नुभयो ।
यता नगर अस्पताल लालबन्दीका मेसु डा। चन्दन कुमार चौधरीले उत्कृष्ट नगर अस्पताल रुपमा सम्मानित हुन पाउँदा थप हौसला र जिम्मेवारी बढेको बताउनुभयो । उहाँले क्षयरोग उन्मूलनमा थप ऊर्जाका साथ काम गर्ने बताउनुभयो ।