भाइरल पोष्ट, हरिवन
चैत्र ११ गते । सर्लाहीको हरिवनमा तेश्रो डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी मेला हुने भएको छ । मेलाको मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले समुद्घाटन गर्नुहुने नगरपालिकाले जनाएको छ ।
चैत्र १३ गतेदेखि १६ गतेसम्म आयोजना गरिने मेलामा कृति तथा दुग्धजन्य उत्पादन, कृषि औजारहरुको प्रदर्शनी गरिने मेला प्रचार प्रसार समिति संयोजक एवम् नगर प्रवक्ता शम्भु प्रसाद मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा माटो परिक्षण शिविर गोबर परिक्षण शिविर, कृषिवाली तथा पशु विमा सम्बन्धी अन्तरक्रिया, गुणस्तर नापतौल कार्यालयसँग अन्तरक्रिया, कृषि औजारको बजारीकरणसँग अन्तरक्रिया लगायत उत्कृष्ट किसानलाई पुरस्कृत गरिने छ । मेलामा सम्पूर्ण स्टलहरु निःशुल्क गरिएको पनि प्रवक्ता मैनालीले बताउनुभयो ।
मेलाका सहयोगीहरुमा हरिवन उद्योग वाणिज्य संघ, हरिवन चेम्वर अफ कमर्स, जेसिआई हरिवन सिटी, नेपाल कृषि मेशिनरी सामाग्री व्यवसायी संघ काठमाण्डौ र हरिवन सहकारी सञ्जाललगायत रहेका छन् ।
त्यस्तै मेलाको कृषकहरुसहित कृषि सहकारी, नगरका प्रतिनिधि, नीति निर्माता, कृषि वैज्ञानिकहरु, कृषि उद्यमीलगायतले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
हरिवन नगरपालिकाले हरेक वर्ष यस्तो मेलाको आयोजना गर्दै आएको छ । यस वर्ष पनि मधेश प्रदेशको शान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान भन्ने नाराका साथ डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी मेला आयोजना गर्न लागेको नगरपालिकाले जनाएको छ । यसवर्ष पनि हरिवन ११ स्थित सुर्ति विकास खेल मैदानमा मेलाको आयोजना गर्न लागिएको छ । मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।