भाइरल पोष्ट, हरिपुर्वा
चैत्र १० गते । सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिका अन्तरगतका सामुदायिक विद्यालयका नेपाली शिक्षकहरुलाई एकीकृत पाठ्यक्रम शिक्षण सिकाई सम्बन्धी पुरनताजगी तालिम दिइएको छ ।
ती पालिकाहरुको सबै सामुदायिक विद्यालयको कक्षा एक मा नेपाली विषय पढाउने शिक्षकहरुलाई सिकाइ प्लस परियोजना मार्फत पुनरताजगी तालिम दिइएको हो ।
हरिपुर्वा नगरपालिका वडा नं. ५ मा रहेको नेपाली खाजा घर होटेलमा चैत्र ८ गतेबाट सुरु भएको तालिम आइतबार सकिएको थियो । तालिममा तेइस वटा विद्यालयका शिक्षकहरु सहभागी भएका थिए । तालिमको सहजिकरण प्रशिक्षक दुर्गाप्रसाद पाण्डे र तालिम केन्द्र कलैया बाराका रोष्टर प्रशिक्षक मनोज प्रसाद साहले गर्नुभएको थियो ।
तालिम सञ्चालनको क्रममा तालिम केन्द्र कलैया बाराका शाखा अधिकृत राजन भण्डारी र हरिपुर्वा नगरपालिकाका शिक्षा शाखा प्रमुख जनक काफ्लेले अनुगमन गर्नु भएको थियो । तालिमको समापन कार्यक्रममा शिक्षा शाखा प्रमुख काफ्लेले एकीकृत पाठ्यक्रममा आधारित शिक्षण सिकाइ तथा मूल्याङ्कन प्रणालीमा जोड दिनुभएको थियो ।
नेपालमा एकीकृत पाठ्यक्रमको अवधारणा शिक्षामा सुधार ल्याउन र विद्यार्थीलाई व्यवहारिक ज्ञान र सीप प्रदान गर्नका लागि ल्याइएको हो । यो पाठ्यक्रमले विभिन्न विषयलाई अन्तर सम्बन्धित गरी जीवनोपयोगी बनाउने उद्देश्य राखेको छ । हाल, आधारभूत तह (कक्षा १–३) मा यो पाठ्यक्रम लागू गरिएको छ । तर कार्यान्वयनमा केही चुनौतीहरू पनि देखिएका छन्, जस्तै शिक्षकहरूको अभिमुखीकरणको कमी, पाठ्यक्रमको प्रभावकारीता सुनिश्चित गर्न आवश्यक स्रोतसाधनको अभाव र स्थानीय तहमा पाठ्यक्रम तर्जुमाको अधिकार सम्बन्धी अन्योलता । तालिम पश्चात मूल्यांकन प्रणालीमा केहि सुधार हुने अपेक्षा गर्न सकिने हरिपुर्वा नगरपालिकाका शिक्षा शाखा प्रमुख काफ्लेले बताउनु भयो ।

अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र सर्लाहीको साझेदारीमा सञ्चालित गुणस्तरीय तथा समावेशी शिक्षा सुदृढीकरण (सिकाइ प्लस) परियोजना मधेश प्रदेशका सबै भन्दा कमजोर अवस्थामा रहेको बालबालिकाको शिक्षामा समान पहुँच गराउने, सक्रिय रुपमा सहभागी गराउने र आधारभूत शिक्षामा समान सिकाइ उपलब्धि हासिल गराउने लक्ष्यका साथ सञ्चालन हुदँै आएको संस्थाको संयोजक नागेन्द्र प्रसाद शाहले बताउनुभयो । साथै यो परियोजना सर्लाही जिल्लाको हरिपुरर्वा नगरपालिका, पर्सा, चन्द्रनगर, ब्रहम्पुरी गाउँपालिका र रौतहट जिल्लाको गरुडा र माधव नारायाण नगरपालिकामा सञ्चालनमा रहेको छ ।