भाइरल पोष्ट, बरहथवा
चैत्र १० गते । प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले गठन गरेको माकुरा समूहले शनिवार सर्लाहीको बरथहवा नगरपालिका १० मा बाटो सम्बन्धी विवादलाई लिएर द्वन्दरत पक्ष तथा सरोकारवालाहरुको खुल्ला धारणा संकलन गर्न संयुक्त बैठक गराएको छ ।

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजीकरण तथा बरहथवा नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिकाको वडा नम्बर १० बहेरिया टोलको बाटो पुर्वका घर तथा जग्गाधनिहरु र वाटो पश्चिमका घर तथा जग्गा धनिहरुबीच वाटो निर्माण सम्बन्धि वियषमा उत्पन्न विवादमा विवाद समाधान गर्ने उदेश्यले द्वन्द्वका पक्ष तथा सरोकारवालाहरुको खुल्ला धारणा संकलन गर्न माकुरा समूहकै पहलमा संयुक्त बैठक आयोजना गरिएको प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालकी सर्लाही जिल्ला सहजकर्ता प्रज्ञा सापकाटोले बताउनुभयो ।
बहेरिया टोलको बाटो सम्बन्धी द्वन्द रुपान्तरण प्रक्रियामा सहजीकरण गरिदिन वडा कार्यालयले प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाललाई दिएको लिखित निवेदनको आधारमा केन्द्रले २०८१ पौष १२ गते पक्ष तथा सरोकाररवालाहरुको सहभागीतामा पुर्वतयारी बैठक संचालन गरि सो द्वन्द रुपान्तरणको प्रक्रिया सुरुवात गरेको थियो । केन्द्रकै सहजिकरणमा द्वन्दरत पक्ष तथा सरोकारवालाहरुवाट छनोट गरिएको प्रतिनिधिहरुको सहभागितामा माकुरा समूह गठन गरि समूहका सदस्यहरुलाई २०८१ साल फाल्गुण २१, २२ र २३ गते ३ दिने क्षमता बिकास तथा नेतृत्व हस्तान्तरण गोष्ठी सञ्चालन गरी सो द्वन्द्व रुपान्तरण प्रकृयामा सहजिकरण गर्न सक्ने सीप हस्तान्तरण गएिको थियो । २०८१ फाल्गुण २४ गते बसेका माकुरा समूहको बैठकको पुर्व तयारी अनुसार शनिवार वडा नं. १० बहेरिया मोठमा खाट विधिको नियम अनुसार संयुक्त बैठक बसि पक्ष तथा सरोकारवालाहरुको खुल्ला रुपमा धारणा संकलन गरिएको थियो ।
संयुक्त बैठकमा बाटो पश्चिमका घरधनी बासुदेव रायले बाटोमा आफ्नो नम्बरी जग्गा परेकोले निकालिदिन आग्रह गर्नुभएको थियो । बाटो पूर्वका घरधनी जनक रायले भने समाजले भोग गर भनी छुट्याएर दिएको जग्गा आफूले भोग गरिरहेको बताउनुहुँदै बाटोमा आफ्नो कुनै विवाद नरहेको बताउनुभएको थियो ।
संयुक्त बैठकमा द्वन्दरत पक्ष तथा सरोकारवालाहरुले विवादित जग्गाहरु अमिन ल्याएर नाप्नु पर्ने, बाटो ऐलानीबाटोबाट लैजानु पर्ने, ऐलानीबाट अपुग भए दुबै पक्षबाट बराबरी जग्गा लिएर बाटो निर्माण गर्नु पर्ने बताएका द्वन्दरत पक्ष र सरोकारवालाहरुलाई खुल्ला धारणा राख्न सहजीकरण गर्नुभएकी प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले बताउनुभयो ।
१० नम्बर वडाका वडाअध्यक्ष शर्मिला कुमारी रामको अध्यक्षतामा संचालित बैठकमा वडा नं. १६ का वडाअध्यक्ष लक्ष्मिनारायण महतो, जिल्ला प्रशासन कार्यालय सर्लाहीका अधिकृत रामनरेश राम, प्रहरी नायक निरिक्षक(सई) लगायत पक्ष तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले जल, जमिन, जङ्गललगायत प्राकृतिक स्रोतको उपभोगलाई लिएर दुई वा सोभन्दा पक्षहरुबीचको द्वन्द रुपान्तरणमा काम गर्दै आएको छ ।
केन्द्रले द्वन्दरत पक्ष तथा सरोकारवालाहरुबाटै चयन भएका सदस्यहरु सम्मिलित माकुरा समूह गठन गरी उनीहरुलाई नेतृत्व र द्वन्द रुपान्तरणको सीप प्रदान गरी उनीहरुकै सहजीकरणमा द्वन्द रुपान्तरणको विभिन्न प्रक्रियाहरुको चरणवद्ध प्रयोग गर्दै द्वन्द रुपान्तरण गर्दै आएको छ ।
यसरी द्वन्द रुपान्तरणको प्रक्रियाअनुसार विवाद समाधान गर्दा सबैले आफैले जितेको महसुस गर्ने र विवाद सधैंका लागि समाधान हुने गरेको अहिलेसम्मको अनुभव आफूहरुसँग रहेको राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले बताउनुभयो ।