भाइरल पोष्ट, लालबन्दी
लालबन्दी जेसीजले नारी दिवसका अवसरमा लालबन्दी नगरपालिका भित्रका फरक क्षमता तथा समाजिक अवस्थाकाबीच समाजमा सक्रिय तथा अनुकरणिय कार्य गर्दै आउनु भएका ९ जना महिलाहरुलाई कदर–पत्र सहित सम्मान गरेको छ ।
सम्मानित हुने नारीहरूमा फरक शारीरिक क्षमता भएर स्वास्थ्य सेवामा कार्यरत कर्मचारिहरू स्मिता उप्रेति र पदमा कुमारी आचार्य, फरक शारीरिक क्षमता भएर वित्तिय क्षेत्रमा कार्यरत मनिषा खडका, शिक्षण पेशामा कार्यरत तारा वाईवा, एकल महिला कर्मचारी आशादेवि पौडेल, विगत ७ बर्षदेखी मयूरी चालक पेशा गर्दै आउनु भएकी देवि वाईवा, रग्वी खेलकी राष्ट्रिय खेलाडि रोजिना पोखरेल र महिला प्रहरिहरू रेणु फुयाल र लक्ष्मि गोले रहनु भएको छ ।
दिवसको अवसरमा शनिवार जेसीजकी अध्यक्ष सुनिताकुमारी खरेलको अध्यक्षतामा पूर्वमन्त्री मधेश प्रदेश सभा सदस्य बेची लुङ्गेलीको प्रमुख आतिथ्यतामा एक भव्य कार्यक्रमको आयोजना गरी उहाँहरुलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा विशिष्ट अतिथि लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने तथा विभिन्न महिला अधिकारका क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधिहरू अतिथिको रहनु भएको थियो । कार्यक्रम पुरानो नगरपालिका कार्यालय रहेको भवनको सभाहलमा भएको थियो ।
हरेक बर्ष मार्च ८ का दिन विश्वव्यापी मनाईने अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर जेसिजसहित जिल्लामा क्रियाशील विभिन्न संघसंस्थाहरुले समेत मनाएका छन् । दिवसको यस वर्षको नारा ‘फर अल वुमन एण्ड गल्र्स ः राईट, ईक्वालिटी, इम्पावरमेन्ट’ अर्थात् ‘सबै महिला र छोरीहरूको लागि ः अधिकार, समानता र सशक्तीकरण’ तय गरिएको थियो ।