भाइरल पोष्ट, मलंगवा
फागुन २३ गते । सर्लाहीमा आएर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लाखौं जनता सडकमा उतार्ने चेतावनी दिनुभएको छ ।
सदरमुकाम मलंगवाको कभर्ड हलमा शुक्रवार आयोजित माओवादीको ‘जनतासंग माओवादी तराई– मधेश जागरण अभियान’ खबरदारी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।
उहाँले हजारौं नागरिकको सहादतबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउन खोज्नेहरुको बिरुद्धमा नेकपा (माओवादी केन्द्र) सडक र सदनबाट संघर्ष गर्न तम्तयार रहेको र आवश्यक परे लाखौं जनता सडकमा उतार्ने चेतावनी दिनुभयो ।
उक्त सभालाई सम्बोधन गर्न अध्यक्ष ‘प्रचण्ड’ सहित पार्टीका शिर्ष नेताहरु बिहिवार बेलुकी सर्लाही आइपुग्नुभएको थियो । बिहिवार महोत्तरीको कार्यक्रम सकेर सर्लाही आउनु भएको अध्यक्ष ‘प्रचण्ड’ सहित पार्टीका शिर्ष नेताहरुलाई सर्लाहीमा भव्य स्वागत गरिएको थियो । उहाँहरु हिजो पर्सा गाउँपालिकाको एक घरमा बास बसेर शुक्रवार विहानै मर्निङ्ग वाकसहित मलंगवा पुगरे त्यहाँ आयोजित जागरण सभालाई सम्बोधन गर्नुभएको थियो । सम्बोधन पछि उहाँहरु कौडेना, गोडैता हुँदै बलरा पुगेर त्यहाँ पनि सम्बोधन गर्नु भएको सो पार्टीले जनाएको छ ।
फागुन १२ गतेदेखि झापाको कचनकबलबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियान लिएर प्रचण्ड अहिले देश दौडाहमा हुनुहुन्छ । उहाँसँग केन्द्रीय पदाधिकारीहरु पनि साथमै रहनु भएको छ ।
माओवादी केन्द्रको यो अभियान चैत ७ गते कञ्चनपुर पुगेर सकिने माओवादी केन्द्रले जनाएको छ ।