भाइरल पोष्ट, लालबन्दी
फागुन २३ गते । लालबन्दीमा दोश्रो लालबन्दी महोत्सव २०८१ शुरु भएको छ । बस्तीपुरस्थित भू–देव खाद्य उद्योगको कम्पाउण्डभित्र सुरु भएको महोत्सव चैत्र ४ गतेसम्म चल्नेछ ।
‘आर्थिक समृद्धि र स्वरोजगारको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नारासहित उद्योग वाणिज्य संघ लालबन्दीले आयोजना गरेको महोत्सवको मधेश प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँले उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँले लालबन्दीको विकासको दायरा फराकिलो बनाउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गनुृभयो । उहाँले भन्नुभयो,‘महोत्सवले उद्योगी, व्यवसायीको मात्रै हित हुँदैन । यसले विकासको दायरालाई फराकिलो बनाउँछ । नगर, प्रदेश र देशकै आर्थिक अवस्थालाई चलायमान बनाउँछ ।’
उहाँले प्रदेशका उद्योग व्यवसायलाई प्रोत्साहन गर्नु, यहाँका बजारहरुलाई चलायमान बनाउनु आफू मातहत मन्त्रालयको जिम्मेवारी भएकोले लालबन्दी महोत्सवलाई समेत सकेको सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही दिनअघि चपुर महोत्सव भयो, त्यहाँ पनि मन्त्रालयले १० लाख सहयोग ग¥यो । यहाँ महोत्सव हुँदैछ भन्ने मलाई थाहै थिएन । कार्यक्रममा निम्ता दिन उहाँहरु आउनुभएपछि मात्रै थाहा भयो । मैले मन्त्रालयमा सचिव ज्यूसँग सल्लाह गरिसकेको छु र जे सकिन्छ म सहयोग गर्छु ।
उहाँले बजेट निर्माणको समयसम्म आफू मन्त्रालयमा बस्न पाए लालबन्दीको उद्योग व्यवसाय र पर्यटन प्रवद्र्धनको लागि यथोचित बजेट समेत विनियोजन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र बलम्पाकीले महोत्सवको उदेश्य मनोरञ्जनमात्रै नभई स्थानीय उत्पादन, कला, भाषा संस्कृतिको प्रचार प्रसार गर्नु रहेको बताउनुभयो । उहाँले लालबन्दीको बजारलाई चलायमान बनाउन पनि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा रहेको बताउनुभयो । उहाँले महोत्सवमा विभिन्न जातजातिको मौलिक परिकारहरु समेत चाख्न पाईने बताउनुभयो । उहाँले महोत्सवमा कृषि र स्थानीय उत्पादनका स्टलहरु समेत राखिएको बताउनुभयो । उहाँले महोत्सव अवधिभर एक लाख बढी मानिसले महोत्सवको अवलोकन गर्ने र त्यसबाट १० करोड हाराहारी आर्थिक कारोवार हुने अपेक्षा व्यक्त गर्नुभयो ।
महोत्सवको उद्घाटनका अवसरमा विभिन्न जातजातिका मानिसहरुले आ–आफ्नो भेषभूषा झल्किने सामाग्रीहरु पस्केका थिए । भने कार्यक्रममा विभिन्न संघसंस्था स्कुल कलेजका विद्यार्थी, खेलाडीहरुको सहभागिता रहेको थियो ।
महोत्सवको उद्घाटनका अवसरमा पूर्वमन्त्री प्रदेश सांसद बेची लुंगेलीसहित उद्योग वाणिज्य महासंघका केन्द्र र प्रदेशका अध्यक्षहरु, लालबन्दी नगरपालिकाका जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न निजी तथा सामुदायिक विद्यालयका शिक्षक विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि, खेलाडीहरु, पत्रकार र उल्लेख्य दर्शकहरुको सहभागिता रहेको महोत्सव आयोजक समितिका संयोजक पूर्ण प्रसाद चौलागाईले जानकारी दिनुभयो ।