भाइरल पोष्ट, लालबन्दी
फागुन २३ गते । एभरेस्ट एकेडेमी लालबन्दीले स्थापनाको ३२औं वर्षगाँठ तथा प्री–स्कूल ग्राजुएसन डे भव्य रूपले मनाएको छ ।
एकेडेमीका संस्थापक तथा हरिपुुर नगर प्रमुुख गोपाल पजियारको अध्यक्षतामा तथा प्रदेशसभा सदस्य बेच्ची लुङ्गेलीको प्रमुख आतिथ्यमा लालबन्दी नगरपालिका ५ स्थित एकेडेमीकै प्राङ्गणमा स्थापना दिवस तथा प्री–स्कूल ग्राजुएसन डे मनाएको स्कुलले जनाएको छ ।
लालबन्दी नगरपालिकाका युवा तथा शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल कार्की विद्यालयका शिक्षक, अभिभावकको उपस्थिति रहेको कार्यक्रमका अवसरमा यु.के.जी.बाट कक्षा १ मा प्रवेश गर्ने ८० जना बालबालिकाको प्री–स्कूल ग्राजुएसन सम्पन्न गरिएको छ । विद्यालय प्रशासनका अनुसार बालबालिकाको शैक्षिक यात्रा अगाडि बढ्दै गएको यो खुसीको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको हो ।
त्यसैगरी, विद्यालयमा लामो समयदेखि योगदान पुर्याएका १८ जना शिक्षक–शिक्षिकाहरुलाई समेत सम्मान गरिएको छ । उनीहरूको समर्पण र निरन्तर योगदानप्रति कृतज्ञता प्रकट गर्दै सम्मान पत्र प्रदान गरिएको विद्यालयले जानकारी दिएको छ । त्यस्तै विद्यालयबाट राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेका ८ जना खेलाडीलाई विशेष सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक रितेश पजियारले जानकारी दिनुभयो । विद्यालय प्रशासनका अनुसार, विद्यार्थीको खेलकुद प्रतिभा पहिचान गर्दै भविष्यमा उनीहरूलाई अझ प्रोत्साहित गरिने छ ।
विद्यालयले वार्षिक रूपमा सञ्चालन गर्ने विभिन्न आन्तरिक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा समूहहरूलाई सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेको छ । यस वर्षको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा “निलो समूह“ प्रथम स्थान तथा “रातो समूह“ दोस्रो स्थान हासिल गर्न सफल भएका छन् । विजेता समूहका सम्पूर्ण विद्यार्थीहरूलाई जम्मा ४०० मेडल वितरण गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयका अनुसार, यस्ता प्रतियोगिताहरूले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । विद्यालय प्रशासनका अनुसार, शिक्षा मात्र नभई अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा समेत विद्यार्थीहरूको समग्र विकास गराउनु विद्यालयको प्रमुख लक्ष्य रहेको छ ।