भाइरल पोष्ट, सर्लाही
फागुन २२ गते । हरिवन नगरपालिका सहयोगापेक्षी सडकआश्रित मानमुक्त नगरपालिका घोषणा भएको छ । हिजो बुधबार बसेको नगर कार्यपालिकाको बैठकले हरिवन नगरपालिकालाई मधेश प्रदेशको पहिलो मानवमुक्त पालिका घोषणा गर्ने निर्णय गरेको थियो ।
नगरपालिकाले वार्षिक नीति तथा कार्यक्रममा सहयोगापेक्षी सडक मानवमुक्त पालिका निर्माण कार्यलाई निरन्तरता दिने भएको छ । आर्थिक वर्ष ०८१÷८२ को वार्षिक बजेट तथा कार्यक्रममा सुनिश्चित हुने गरी नगरपालिकालाई सडकआश्रित मानवमुक्त नगरपालिका बनाउने घोषणा गरिएका नगरपालिकाले जनाएको छ ।
कसैले पनि बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन तथा सडकमा बेवारिसे भइ बाँच्न पर्ने अवस्थाको अन्त्य गर्नको लागि नगरलाई सडकआश्रित मानव मुक्त पालिका घोषणा गरिएको नगरप्रमुख कमल बुढाथोकीले बताउनुभयो । मानवता प्रवद्धर्न महाअभियान अन्तर्गत मानवसेवा आश्रमसँग सहकार्य गर्दै नगरप्रमुख बुढाथोकीले नगरपालिकालाई सडकआश्रित मानवतायुक्त बनाउने अभियानलाई पूर्ण साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
बिहीबार श्रीमद भागवत ज्ञान विज्ञान महायज्ञको उद्घाटन सत्रमा नगरप्रमुख कमल बुढाथोकी बुढाथोकी र मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीबीच सडकआश्रित मानवमुक्त नगरपालिका घोषणाका लागि सम्झौता पत्र हस्तान्तरण भएको छ ।
आश्रमले ‘मिसन २०८२’ तय गर्दै सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण, घोषणा र कार्यान्वयनका लागि राष्ट्रिय अभियान थालेको छ । साथै नगरप्रमुख बुढाथोकीले मानवसेवा आश्रम सर्लाही शाखाको भवन निर्माणको लागि ५६ लाख २१ लाख रूपैयाँको चेक आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गर्नुभएको छ ।
त्यस्तै बुढाथोकीले भवन निर्माणार्थ आजदेखि सुरू भएको महायज्ञमा दिन खोलेर सहयोग गर्न सम्पूर्णलाई आग्रह समेत गर्नुभयो ।