भाइरल पोष्ट, हरिवन
फागुन २२ गते । एघार करोड दान संकलनको उदेश्यसहित मानवसेवा आश्रमले हरिवनमा श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ शुभारम्भ गरेको छ ।
हरिवन नगरपालिका ९ स्थित आश्रमको सर्लाही शाखा भवन(मानवीय स्मारक) निर्माण सम्पन्न गरी सहयोगापेक्षी सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले आश्रमले हरिवन ११ स्थित सुर्ति विकास खेल मैदानमा साताव्यापी ज्ञानविज्ञान महायज्ञको आयोजना गरेको हो ।
भागवत भाष्कर कमलनयन गौतमले कथा वाचन गर्नुहुने महायज्ञ फागनु २९ गते सम्म चल्नेछ । महायज्ञको पहिलो दिन आज बिहान ११ बजे सुखेपोखरीस्थित चतुर्भुजेश्वर शिव मन्दिरबाट शोभा कलश यात्रा सुरू भएको थियो । महायज्ञमा ईन्द्रेणीका सञ्चालक कृष्ण कँडेलको टिम पनि प्रस्तुति रहेको थियो । त्यसै भवन निर्माणका लागि ईन्देणी टिमले ५१ हजार बराबरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । भागवत भास्कर कमलनयन गौतमले कथा वाचन गर्नुहुने महायज्ञमा प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजे सम्म योग शिविर, साँढे ७ बजेदेखि १० बजेसम्म विद्यार्थीमाझ उत्प्रेरणा कार्यक्रम समेत सञ्चालन हुनेछन् ।
यसैबीच, महायज्ञको समुद्घाटनको अवसरमा हरिवन नगरपालिकाले हरिवनलाई सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा गरेको छ । नगरपालिकाभित्र कसैले पनि असहाय, बेसहारा भइ बाँच्ने अवस्थाको अन्त्य गर्न नगर घोषणा गरिएको नगरप्रमुख रमेश बुढाथोकीले बताउनुभयो । साथै सर्लाही शाखाको भवन निर्माणका लागि नगरपालिकाले ५६ लाख २१ हजार रुपैयाँ सहयोग गरेको छ । मानवसेवा आश्रमको हरिवन–९ स्थित निर्माणाधीन भवन निर्माण सम्पन्न गर्नका लागि महायज्ञबाट ११ करोड दान संकलन लक्ष्य राखिएको मूल आयोजक समितिका अध्यक्ष माधव प्रसाद थापाले जानकारी दिनुभयो ।
मानवसेवा आश्रमले मधेश प्रदेशमा मात्रै हालसम्म ७१५ जना सडकआश्रित मानवहरुको उद्धार गरिसकेको छ भने ४०१ जनाको सुखद् पारिवारिक पुनर्मिलन गराइसकेको छ । मधेश प्रदेशमा हाल १६१ सडक आश्रित मानवहरुलाई आश्रय दिँदै आएको छ । ती मध्ये सर्लाही जिल्लाको हरिवनमा रहेको आश्रमले २९९ सडकआश्रित मानवहरुको उद्धार गरिसकेको छ । २२९ जनाको सुखद पारिवारिक पुनर्मिलन गराइसकेको छ ।
हाल ६० जना हरिवन आश्रममा आश्रित छन् । मानवसेवा आश्रमको भवन निर्माण सम्पन्नपछि १५० जना सहयोगापेक्षी सडकआश्रित मानवहरुलाई सेवा प्रदान गर्न सक्ने क्षमता राख्ने मानवसेवा आश्रमले जनाएको छ ।