भाइरल पोष्ट, महोत्तरी
फागुन २२ गते । महोत्तरीको भंगाह गाउँपालिकाको रामपुरमा सहकारी धनीहरुले मिटरव्याज पिडित संघर्ष समितिका मानिसहरुलाई हातहतियारसहित आक्रमण गरेका छन् । आक्रमणबाट चार जना गम्भीर घाइते भएका छन् भने दुई दर्जनबढीलाई चोटपटक लागेको छ ।
घाईतेहुनेमा संघर्षसमितिकी भोजपुरा कमाण्डकी सहइन्चार्ज फतमा खातुन, संघर्ष समितिकै रामबाबु महतो, सुरज महतो र राजारोहण यादव रहेका छन् । सहकारीधनीहरुले धारिलो खुकुरी, दाउराको चिरपट, लाठी र भाटाले आक्रमण गर्दा खातुनको दाहिने हात भाँचिएको छ भने निधारको डिल टाउकामा गम्भीर चोट लागेको छ । खातुनको सर्लाहीको नवलपुरस्थित जीवन लाईफ लाईन हस्पिटलमा उपचार भइरहेको छ । त्यस्तै आक्रमणमा परी रामबाबु महतोको हात, सुरज महतोको खुट्टा भाँचिएको छ भने राजारोहण यादव निर्घात घाइते भएका छन् ।
उनीहरुलाई भंगाह गाउँपालिका ४ रामपुरमा रहेको श्री नवदिप ज्योति बचत तथा ऋण सहकारीका अध्यक्षसमेत रहेका महेश महतो, त्यस्तै घुरन महतो, अर्जुन महता, रामबाबु राम चमार लगायतको टोलीले शान्तिपूर्णं आन्दोलनका क्रममा आक्रमण गरेको संघर्ष समितिको महोत्तरी, धनुषा, सिराहा र सप्तरी चार जिल्लाका अध्यक्ष मोहन महतोले बताउनुभयो ।
महतोका अनुसार उक्त सहकारीले स्थानीय सुशिलादेवी, जानकी देवी र सुरेन्द्र महतोको २२ कट्ठा जग्गा कौडीको भाउमा लिलामी गरी हडपेका थिए । आफूहरुले सहकारीबाट लिएको ऋणको साँवा र व्याज नियमित बुझाएको भएपनि केही साँवा र व्याज तिर्न बाँकी हुँदै बलजफ्ती सहकारीका कर्मचारीहरुसँग मिलेर कौडीको भाउमा जग्गा लिलामी गरेको आरोप लगाएका छन् । उनीहरुले फागुन २० गते लिलामीमा पारिएको आफूहरुको जमिन जोतिरहेको ठाउँमा गएर जग्गा नजोत्नु बेचेर सहकारीको ऋण तिर्छु भन्न जाँदा जग्गाधनी श्रवण महतोको बाउछोरालाई कुटपिट गरेका थिए । त्यसपछि उनीहरुले मिटरव्याज संघर्ष समितिको गुहार मागेका थिए । घटनाबारे बुझ्न गएको संघर्ष समितिले सहकारी अगाडि शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए । सोही क्रममा सहकारी धनीहरुले हातहतियारसहित आक्रमण गरेको मिटर व्याज लघुवित्त संघर्ष समितिका सर्लाही, रौतहट, बारा र पर्सा यो चार जिल्लाको प्रमुख इन्चार्ज तैयव मन्सुरले बताउनुभयो । उहाँले सहकारी धनीहरुले प्रहार गरेको ढंगाले आफूलाई पनि पानी पेटमा लागेको बताउनुभयो ।
आफूहरुमाथि खुलेआम हातहतियार प्रयोग गरी आक्रमण हुँदा पनि प्रशासन मौन रहेकोप्रति उहाँले दुःख व्यक्त गर्नुभयो । आक्रमणकारीहरु खुलेआम हिडिरहेका छन् । हामी घाईतेहरु मधेश प्रदेशका विभिन्न जिल्लाका अस्पतालहरुमा उपचाररतछौं । तर आक्रमणकारीहरुमाथि कुनै कार्वाही भएको छैन । उनीहरुले अझै पनि पिडितको घरमा गएर धाकधम्की दिई रहेको जानकारी आएको बताएका छन् ।
उहाँले भन्नुभयो,‘हामीले शान्तिपुर्ण विरोध गरेका हौं । हामीले कसैलाई आक्रमण गरेका छैनौं । त्यहाँ सिसिटिभी फुटेज छ । हामीले पनि भिडियोहरु खिचेका छौं हेर्न सक्नुहुन्छ । हामीमाथि दमन र आक्रमण हुँदा पनि राज्य मौन छ । प्रशासन मौन छ ।’ उहाँले सहकारीधनीहरुले उल्टै आफूहरुलाई झुटा आरोप लगाई रहेकोले त्यहाँ भएको घटनाको गहिरो ढंगले अनुसन्धान गर्न प्रहरी प्रशासनसँग माग गर्नुभयो ।