भाइरल पोष्ट, मलंगवा
फागुन २२ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भोलि सर्लाही सदरमुकाम मलंगवामा सम्बोधन गर्नुहुने भएको छ ।
तराई मधेश जागरण अभियानको नेतृत्व गर्दै अभियानमा निस्किनु भएका अध्यक्ष प्रचण्डले भोलि सदरमुकाम मलंगवास्थित कबर्डहलमा आयोजना हुने जागरण सभालाई सम्बोधन गर्नु हुने नेकपा माओवादी केन्द्र सर्लाहीका ईन्चार्ज अच्यूतम काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार जागरण सभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्डसहितको केन्द्रीय पदाधिकारीहरुको टोली आजै सर्लाही आई पुग्नेछ । अध्यक्ष प्रचण्डसहितको टोली आज साँझ पर्सा गाउँपालिकाको एक स्थानीयको घरमा बास बस्ने र भोलि विहान मर्निङ्ग वाकसहित सदरमुकाम मलंगवा पुगेर जागरण सभालाई सम्बोध गर्नुहुनेछ ।
जागरण सभालाई सम्बोधन सकेर अध्यक्ष प्रचण्डसहितको टोली हुलाकी मार्ग हुँदै कौडेना, गोडैता, बलरा, रामनगरबाट धनकौल निस्किएर बागमती नदी समनपुर पुलबाट रौतहट प्रस्थान गर्नुहुने जिल्ला ईन्चार्ज काफ्लेले बताउनुभयो ।
नेकपा माओवादी केन्द्रले फागुन १२ गतेबाट झापाको कचनकबलबाट हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियान सुरु गरेको हो । चैत ७ गते कञ्चनपुर पुगेर सकिने अभियानको नेतृत्व केन्द्रीय अध्यक्ष प्रचण्ड स्वयमले गर्नुभएको छ ।
अभियान अन्तरगत माओवादी केन्द्रले जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट लगायत कार्यक्रमहरु गरिरहेको छ । अभियान टोलीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरूका साथै सांस्कृतिक टोली रहेका छन् ।