भाइरल पोष्ट, जनकपुरधाम
फागुन २१ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भारतबाट अवैध रूपमा नेपाल भित्रिने पोल्ट्रीजन्य वस्तुमा रोक लगाउन प्रदेशका उच्चपदस्थ सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।
विभिन्न नाकाहरुबाट अवैध ढङ्गले भित्रिने अण्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न मधेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक लालमणि आचार्य र सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीलाई मुख्यमन्त्री सिंहले निर्देशन दिनुभएको हो ।
सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको अण्डा तथा मासु उपलब्ध गराइरहेको नेपालको पोल्ट्री व्यावसाय भारतबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थका कारण सङ्कटग्रस्त हुन थालेको र भारतका विभिन्न प्रान्तमा देखापरेका बर्डफ्लु भित्रिने जोखिम उच्च रहेकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात नियन्त्रण गर्नुपर्ने भन्दै नेपाल लेयर्स कुखुरापालक संघले बुधवार मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराएको थियो । देशको कुल ग्राहस्थ उत्पादनमा तीन प्रतिशत हिस्सा ओगटेको र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पाँच लाख व्यक्तिलाई रोजगार दिएको पोल्ट्री क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका लागि पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोकिनुपर्ने माग कुखुरापालक व्यावसायीहरूले मुख्यमन्त्री सिंहसँग गरेका थिए ।
मुख्यमन्त्री सिंहले पोल्ट्रीजन्य पदार्थको खुला बिक्री वितरणमा साना पूँजी भएका व्यक्तिहरूको संलग्नता रहेकाले चेतनामूलक कार्यक्रमका साथ नियन्त्रण प्रयास हुनुपर्ने पनि बताउनुभएको थियो । उहाँले योजनाबद्ध तरिकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोक्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिँदै त्यस्ता पदार्थको अवैध आयात हुने नाका र क्षेत्र पहिचान गरी प्रहरी परिचालन गर्नुपर्ने बतउनुभयो ।
मधेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी महानिरीक्षक लालमणि आचार्यले पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोक्न पहिलो चरणमा चेतनामूलक प्रचारप्रसार गरिने र दोस्रो चरणमा कानुनअनुसार त्यस्ता वस्तु नियन्त्रणमा लिएर नष्ट गरिने जानकारी दिनुभयो । त्यस्तै सशस्त्र प्रहरी नायब महानिरीक्षक धौवजीले विभिन्न नाकाबाट अवैधढंगले भित्रिने पोल्ट्रीजन्य पदार्थको नियन्त्रणमा सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीलगायत सुरक्षा निकायले निरन्तर काम गरिरहेको भन्दै अबउपरान्त त्यस काममा थप तीव्रता ल्याउने बताउनुभयो ।
नेपालको पोल्ट्री व्यावसायमा एक खर्ब ६० अर्ब लगानी रहेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ ।