भाइरल पोष्ट, सागरनाथ
फागुन २१ गते । सागरनाथ वन विकास परियोजनाले १६६ क्युविक फिट काठ बरामद गरेको छ ।
फरेष्टर गंगा ठाकुरको नेतृत्वमा रहेको परियोजनाको टोली र सशस्त्र प्रहरी वल सागरनाथ वेश क्याम्पको संयुक्त गस्ती टोलीले जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर ५ फुलजोर र वडा नम्बर १३ श्रीनगरस्थित बम्जन टोलबाट सो परिणाम बराबरको अवैठ काठ बरामद गरेको हो ।
परियोजना प्रमुख खेमलाल विश्वकर्माका अनुसार तस्करहरुले परियोजना क्षेत्रबाट चोरी तस्करी गरी घरमा लुकाई छिपाई राखेको र अन्यन्त्र पैठारी गर्न लागेको भन्ने सूचना पाएपछि गएको टोलीले साल र टिक जातका काठका गोलियाहरु बरामद गरेको हो । उहाँका अनुसार बरामद काठ वन ऐन २०७६ अनुसार आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय लालबन्दी पठाउने तयारी गरिएको छ । परियोजनाको टोली आएको थाहा पाएपछि तस्करहरु भने फरार भएका र उनीहरुको खोजी कार्य जारी रहेको परियोजना प्रमुख विश्वकर्माले बताउनुभयो ।
पछिल्लो समय परियोजना क्षेत्रबाट काठ चोरी तस्करीका घटनाहरु नियन्त्रणका लागि परियोजनाले कडाईका साथ गस्ती परिचालन गरिरहेको परियोजना प्रमुख विश्वकर्माले बताउनुभयो