भाइरल पोष्ट, हरिवन
फागुन २० गते । न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको हरिवन स्थित समता स्कुलले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
समता एजुकेसन फाउण्डेशद्वारा सञ्चालित समता स्कुलले स्कुलमै साँस्कृतिक कार्यक्रमको आयोजना गरी भव्य रुपमा नवौं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
समाजसेवी डाकुरनाथ खतिवडाको अध्यक्षता तथा हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीको प्रमुख आतिथ्यतामा आयोजित वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमका अवसरमा स्कुललाई सहयोग गर्ने मनकारी व्यक्तिहरु र शिक्षिकाहरुलाई सम्मान समेत गरिएको थियो । स्कुलका शिक्षिकाहरुको नृत्यबाट सुरु भएको साँस्कृतिक कार्यक्रममा सानासाना बालबालिकालाई पनि अत्यन्तै उत्कृष्ट नृत्यहरु प्रस्तुत गरेका थिए ।
सो अवसरमा समत स्कुलको भवन निर्माणमा सहयोग गर्नुहुने मनकारी व्यक्तित्वहरु शम्भु शर्मा, डाकुरनाथ खतिवडा, अनिल हमाल, ईश्वर भुजेल लगात स्कुलका शिक्षकशिक्षिकाहरुलाई समेत स्कुलले सम्मान गरेको कार्यक्रमका अतिथिसमेत रहनु भएका समाजसेवी भरत कुमार कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा समता स्कुलका संस्थापक दिपक सञ्जेल, स्कुल निर्माण समितिका संयोजक सुकदेव कार्की, समाजसेवी भरत कुमार कार्की, अर्जुन पन्त, चुडामणि वाग्ले, श्यामबाबु कार्की, महादेव जनता माविका पुर्व प्रअ जयशंकर सिह, रुद्र पौडेल, मोहनलाल श्रेष्ठ, आरिफ हुस्सैन, सञ्जीव भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि लगायतका वक्ताहरुले समता स्कुलको भौतिक तथा शैक्षिक गुणस्तर सुधारमा सबैले सहयोग गर्नु पर्ने बताउनुभयो । उहाँहरुले समता स्कुलले मासिक एक सय रुपैयाँमै गुणस्तरीय शिक्षा प्रदान गरिरहेकोले विपन्न समुदायका बालबालिका यसबाट लाभान्वित भइरहेको बताए ।
उहाँहरुले अहिले एक सय रुपैयाँले केही पनि नआउने समयमा पनि समता स्कुलले एक सय रुपैयाँमै गुणस्तरीय शिक्षा दिएर सराहनीय कार्य गरेको भन्दै समता स्कुल र यसका सञ्चालकहरुको प्रसंसा गर्नुभयो ।