भाइरल पोष्ट, बलरा
फागुन १० गते । जनमत पार्टी सर्लाहीले बलरा नगरपालिकाबाट यू–२४ अभियानको शुभारम्भ गरेको छ ।
युवाहरुलाई राजनीतिक रूपमा जागरूक बनाउने उद्देश्यले केन्द्रीय समितिको निर्णयानुसार नै सुरु गरिएको यो अभियान अन्तर्गत बलरा नगरपालिकाको वडा नम्बर ५ र ६ बाट यो अभियान सुरु गरिएको जिल्ला इन्चार्ज श्रीचन यादव(सुजन)ले जानकारी दिनुभयो ।
जिल्ला ईन्चार्ज सुजनका अनुसार यो अभियान अन्तरगत वडा तहसम्म पार्टीको सदस्यता वितरण, संगठन सुदृढीकरण र संगठन विस्तार गरिनेछ । बलराबाट शुरु भएको अभियान जिल्लाको सबै पालिका र सबै वडासम्म लगिनेछ ।
यू–२४ अभियानको उद्घाटन समारोहमा पार्टीका केन्द्रीय सदस्य, स्थानीय नेताहरू तथा युवाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा युवाहरुलाई नेतृत्व विकास, शिक्षा, रोजगारी तथा सामाजिक परिवर्तनका विषयमा सचेत गराउने विषयमा छलफल गरिएको थियो ।
जनमत पार्टीका नेताहरुले अभियानलाई जिल्लाका २० ओटै पालिकाका २ सय ओटै वडामा सशक्त ढंगले सफल बनाउने प्रतिबद्धता जनाएका छन् । यस अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी थुप्रै नेता तथा कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका केन्द्रीय सदस्य समेत रहेका जिल्ला ईन्चार्ज युवा नेता सुजनले बताउनुभयो ।
नवप्रवेशीहरुलाई पार्टीका नेता सुजनसहितका अन्य नेताहरूले औपचारिक रूपमा स्वागत गर्दै जनमत पार्टीको सिद्धान्त र उद्देश्यबारे जानकारी गराएका छन् । । नवप्रवेशीहरूले पार्टीको युवा अभियानलाई सफल बनाउन आफूहरू सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।
जनमत पार्टीले यू–२४ अभियानलाई आगामी महिनाहरूमा विभिन्न स्थानमा विस्तार गर्ने योजना बनाएको छ । युवा जागरणमार्फत सामाजिक तथा राजनीतिक परिवर्तनको अभियानलाई जनमत पार्टीले बलियो रूपमा अघि बढाउने बताएको छ ।
जनमत पार्टीको गएको माघ २० गते सम्पन्न केन्द्रीय समितिको वैठकले सर्लाहीसहित तराईका १८ ओटा जिल्लामा ‘मिसन यू–२४ अभियान’ सञ्चालन गर्ने निर्णय गर्दै १८ओटै जिल्लाको लागि अभियान संयोजक तोकि पठाएको थियो । जसअनुरुप सर्लाही जिल्लाको लागि अभियान संयोजक समेत तोकिएका केन्द्रीय सदस्य एवम सर्लाही इन्चार्ज सुजनले अभियानको नेतृत्व गरिरहनुभएको छ ।
जिल्लामा जनमत पार्टीप्रति मानिसहरुको विश्वास बढ्दै गएको देखिन्छ । सोही आधारमा जनमत पार्टीले पनि आफ्ना गतिविधिहरुलाई जिल्लाभर वडावडासम्म विस्तार गर्दै लगेको देखिन्छ ।