भाइरल पोष्ट, हरिपुर्वा
फागुन ९ गते । सर्लाहीमा शिलान्यास भएको झण्डै १२ वर्षपछि नगर अस्पताल सञ्चालनमा आएको छ ।
जिल्लाको हरिपुर्वा नगरपालिका वडा नम्बर २ मा स्थानीय ५ जना दयालु दाताहरुले निःशुल्क प्रदान गरेको १० कट्ठा जग्गामा झण्डै १२ वर्षअघि निर्माण सुरु भई करीब ३ वर्ष अघि मात्रै निर्माण सम्पन्न भएको १५ शैयाको नगर अस्पतालको शुक्रबार उद्घाटन गरिएको हो ।
अस्पतालको २०६९ साल जेष्ठ २ गते तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतोले शिलान्यास गर्नुभएको थियो । करीब ७ करोडको लागतमा तीन वर्ष अघि नै निर्माण सम्पन्न भई विभिन्न कारणले सञ्चालनमा आउन नसकेको १५ शैयाको नगर अस्पतालको शुक्रबार नगर प्रमुख विनोद कुमार साह, नगर उपप्रमुख सुमिन्त्रादेवी ग्वारनी, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गर्नुभएको हो ।

अस्पताल उद्घाटनको अवसर पारेर अस्पताल निर्माणका लागि निःशुल्क रुपमा जग्गादान गर्नुहुने दानवीरहरुलाई दोसल्ला, मायाको चिनो र सम्मान पत्र प्रदान गरि सम्मान समेत गरिएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जग्गादाता विनोद साहले निकै पहिले नै सञ्चालनमा आउनुपर्ने नगर अस्पताल ढिलै भएपनि सञ्चालनमा आउँदा खुशि लागेको बताउनुभयो । उहाँले अस्पताल सञ्चालनमा ढिलो भएपनि यसको व्यवस्थापन र सञ्चालनमा कुनै कमीकमजोरी नगर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जनताको घरदैलोमै स्वास्थ्य सेवा पु¥याउनु सरकारको दायित्व भएकोले सोही दायित्व बहन गर्दै हरिपुर्वा नगरपालिकाले नगर अस्पताल सञ्चालनमा ल्याउन सकेकोमा धन्यवाद दिनुभयो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहले विद्यमान निती नियम अनुसारै नगर अस्पतालको सञ्चालन तथा व्यवस्थापन गरिने बताउनुभयो । उहाँले जनताका मूलभूत आवश्यकताहरु सम्बोधन गर्न स्थानीय सरकारहरुले प्रयास गरिरहेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मेयर विनोद कुमार साहले आफ्नै पालामा नगर अस्पतालको उद्घाटन गर्न पाउँदा खुशि लागेको बताउनुभयो । उहाँले आफूभन्दा पहिलेका जनप्रतिनिधिहरु र यसक्षेत्रका सांसाद तथा मन्त्रीहरुको समेत कमीकमजोरीको कारण नगर अस्पताल सञ्चालनमा आउन ढिलो भएको बताउनुभयो । आफू काम गर्न निर्वाचित भएर आएको तर जनताको विकासको काममा पनि राजनीति गर्नेहरुले आफूलाई काममा अप्ठेरो गर्ने गरेको पनि मेयर साहले बताउनुभयो ।