भाइरल पोष्ट, चन्द्रनगर
फागुन ६ गते । नेपाल शिक्षक महासंघ चन्द्रनगरले विद्यालय शिक्षा ऐन जारी गर्न र शिक्षक–कर्मचारीहरूको माग सम्बोधन गर्न चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । महासंघका अध्यक्ष सरोज सिंहको नेतृत्वमा गएको महासंघका प्रतिनिधिहरूले सोमबार गाउँपालिकाको कार्यालय पुगेर अध्यक्ष महतोलाई भेटी आफ्नो मागहरू औपचारिक रूपमा प्रस्तुत गरेका हुन् ।

ध्यानाकर्षण पत्रमा शिक्षकहरूको सेवा सुरक्षाको प्रत्याभूति, स्थायी दरबन्दीको व्यवस्था, विद्यालय शिक्षा सुधार, गुणस्तरीय शिक्षाको सुनिश्चितता, शैक्षिक सामग्री तथा भौतिक पूर्वाधारको विकास जस्ता विषयहरू उल्लेख छन् । महासंघले विद्यालय प्रशासनलाई प्रभावकारी बनाउन तथा शिक्षासम्बन्धी ऐनलाई अद्यावधिक गर्दै शिक्षक–कर्मचारीहरूको हकअधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
शिक्षक महासंघका पदाधिकारीहरूले सरकार तथा सम्बन्धित निकायले शिक्षाको सुधारका लागि प्रभावकारी नीति ल्याउनुपर्नेमा जोड दिएका छन् । उनीहरूले लामो समयदेखि शिक्षक–कर्मचारीहरूले उठाएका मागहरूमाथि स्थानीय सरकार उदासीन रहेको भन्दै चाँडो निर्णय नभए थप संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोले शिक्षाको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै शिक्षक महासंघका मागहरू अध्ययन गरी आवश्यक कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।