भाइरल पोष्ट, हरिवन
फागुन ५ गते । हरिवनमा ९३ प्रतिशत बालिकाहरुले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएका छन् ।
फागुन १ गतेबाट सुरु भएको अभियान अन्तरगत हरिवनमा अभियान सुरु भएको पाँचौं दिनसम्ममा ९३ प्रतिशत अर्थात २ हजार ८१९ जना बालिकाहरुले खोप लगाएका हुन् ।
नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले दिनुभएको जानकारी अनुसार हरिवनमा पहिलो दिन बिहीवार ७३८ जनाले खोप लगाएका थिए भने दोश्रो दिन आज ५३४ जनाले एचपिभी खोप लगाएका थिए । एवम् रुपले पाँचौं दिन सम्म आई पुग्दा ९३ प्रतिशतलाई खोप दिन सफल भएको हो ।
उहाँका अनुसार हरिवनमा फागुन ७ गतेसम्म अभियान चल्नेछ । अभियान अन्तरगत हरिवन नगरपालिकामा कुल ३ हजार १४ जना बालिकाहरुलाई खोप दिईनेछ । जसमा विद्यालयका कक्षा ६ देखि १० सम्मका बालिकाहरु र विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिकाहरु पर्छन् ।
अभियान सम्पन्न गर्न नगरका सबै २९ ओटा बिद्यालय, ११ ओटा स्वास्थ्य संस्था र समुदायमा एउटा गरी ४१ ओटा खोप केन्द्र मार्फत धमाधम खोप लगाउने काम भइरहेको छ । खोप कार्यक्रमका लागि नगरका ११ ओटै वडामा दुई÷दुई जनाका दरले २२ जना स्वास्थ्यकर्मी र ७३ जना स्वास्थ्य स्वयमसेविकाहरुलाई खटाईएको छ ।
जनस्वास्थ्य अधिकृत चौधरीका अनुसार विश्वमा हरेक वर्ष ५ लाख ७० हजार महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ भने ३ लाख ११ हजारले ज्यान गुमाउने गरेका छन् । नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ भने १ हजार ३१३ जनाको मृत्यु हुने गरेको छ ।
एचपिभी भाइरसको संक्रमणबाट हुने यो क्यान्सरको भाइरस २ सयभन्दा बढी प्रजातिको हुन्छ । ती मध्ये १२ प्रजातिका भाइरसले क्यान्सर गराउन सक्छ । ती १२ प्रजातिमध्ये नेपालमा १६ र १८ प्रजाति बढी घातक मानिएको छ । यसैको विरुद्ध नेपालमा सबै किशोरीहरुलाई खोप दिन माघ २२ गतेदेखि देशभरी नै यो अभियान सञ्चालन भइरहेको छ ।