भाइरल पोष्ट, हरिवन
फागुन ३ गते । सर्लाहीको हरिवनमा शनिबार साँढे छ सय बढीले निःशुःक आँखा जाँच गराएका छन् । जाँच गराएका मध्ये १०८ जनामा मोतियाविन्दु फेला परेको छ । हरिवन नगरपालिका, नेपाल नेत्रज्योति संघ, आँखा हस्पताल चितवन र आँखा उपचार केन्द्र हरिवन सुखेपोखरीको संयुक्त आयोजनामा शुरु भएको निःशुल्क आँखा शिविरमा ६ सय ६२ जनाले निःशुल्क आँखा जाँच गराएका थिए । त्यस्तै शिविरका क्रममा ५२ जनालाई निःशुल्क रुपमा चश्मा प्रदान गरिएको हरिवन नगर स्वास्थ्य शाखाले जनाएको छ ।
हरिवन नगर स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामबाबु चौधरीका अनुसार शनिवारदेखि नै शुरु भएको आँखा शिविरको पहिलो दिन नै यत्रो संख्यामा आँखा जाँच गराउन विरामीहरु आएका हुन् । शिविर नगरपालिका अन्तरगतको हरिवन स्वास्थ्य चौकी, घुर्कौली स्वास्थ्य चौकी र सासापुर स्वास्थ्य चौकीमा गरी तीन ठाउँबाट एकैसाथ शुरु भएको थियो । शिविर विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चलेको थियो ।
उहाँका अनुसार हरिवन स्वास्थ्य चौकीमा आँखा जाँच गराएका २४४ मध्ये ४० जनामा मोतियाविन्दु भेटिएको थियो । त्यस्तै घुर्कौली स्वास्थ्य चौकीमा २४० मध्ये ४० जनामा र सासापुर स्वास्थ्य चौकीमा १७८ मध्ये २८ जनामा मोतियाविन्दु फेला परेको हो ।
भरतपुर आँखा अस्पताल र आँखा उपचार केन्द्र हरिवन सुखेपोखरीका नेत्ररोग विशेषज्ञ डाक्टरहरुले विरामीहरुको आँखाको निःशुल्क जाँच गरेका थिए भने विरामीहरुलाई निःशुल्क चश्मा समेत वितरण गरिएको थियो ।
६ दिनसम्म चल्ने शिविर अन्तरगत भोलि बरहथा नगर अस्पतालमा निःशुल्क आँखाको जाँच शिविर राखिएको छ भने फागुन ५ गते आँखा उपचारकेन्द्र हरिवन सुखेपोखरीमा छुटेका विरामीहरुको जाँच शिविर चल्नेछ भने फागुन ६,७ र ८ गते तीन दिन सम्म आँखा उपचार केन्द्र हरिवन सुखेपोखरीमै शिविरमा भेटिएका मोतियाविन्दुका विरामीहरुको निःशुल्क शल्यक्रिया गरिनेछ ।