भाइरल पोष्ट, मलंगवा
फागुन २ गते । २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा नेपालमा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाईने गरिएको छ । सर्लाहीमा भने यस वर्ष तीन दिन सम्म विभिन्न कार्यक्रमहरु गरी हर्षोल्लासका साथ यो दिवस मनाईने भएको छ ।
प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहको प्रमुख आतिथ्यतामा जिल्लाका सबै सुरुक्षा निकायका प्रमुखहरुसहित आज बसेको बैठकले जिल्लामा विभिन्न कार्यक्रमसहित फागुन ६, ७ र ८ गते गरी तीन दिन सम्म हर्षोल्लासका साथ प्रजातन्त्र दिवस २०८१ मनाउने निर्णय गरेको हो । दिवसको अवसरमा पहिलो दिन प्रादेशिक अस्पताल मलंगवामा फलफुल वितरण गर्ने, दोश्रो अर्थात मुख्य दिन प्रभातफेरीसहित रक्तदान कार्यक्रमको आयोजना गर्ने र अन्तिम दिन जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीबीच मैत्री क्रिकेट प्रतियोगिता आयोजना गरेर दिवस मनाउन लागिएको प्रजातन्त्र दिवस २०८१ जिल्ला स्तरीय मूल समारोह समितिले जनाएको छ ।
जिसस सभापतिको संयोजकत्वमा रहेको प्रजातन्त्र दिवस २०८१ जिल्ला स्तरीय मूल समारोह समितिले दिवसको अवसरमा फागुन ६ गते सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा फलफुल वितरण गर्नेछ । त्यस्तै दिवसको मुख्य दिन फागुन ७ गते विहान ७ बजे मलंगवामा प्रभातफेरी गरिनेछ । सोही दिन रक्तदान कार्यक्रम गरिनेछ भने फागुन ८ गते जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुनेछ ।
वैठकले प्रजातन्त्र दिवसको अवसरमा जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवम् सामुदायिक संघसंस्था, शैक्षिक संस्थालाई राष्ट्रिय झण्डा फहराउन अनुरोध गरेको छ ।