भाइरल पोष्ट, संग्रामपुर
फागुन २ गते । पर्सा गाउँपालिकाको बालमैत्री सिकाइ केन्द्रमा निःशुल्क कम्प्युटर कक्षा सञ्चालनमा आएको छ । बागमती सेवा समाज नेपाल हरिवन, सर्लाही र पर्सा गाउँपालिका वडा–२ को सहयोग तथा साझेदारीमा बालबालिका, किशोरकिशोरी लक्षित गरी कम्प्युटर कक्षा सञ्चालन गरिएको हो ।
उक्त कक्षाको उद्घाटन पर्सा गाउँपालिका वडा–२ का वडा अध्यक्ष राकेश राम, वडा–१ का वडा अध्यक्ष सत्येन्द्र राय यादव, पर्सा बाल अधिकार समितिका संयोजक सुनिता देवी पासवान, तथा राष्ट्रिय जनता बैजु माविका प्रधानाध्यापक सुरेन्द्र रजकले संयुक्त रूपमा रिवन काटेर गर्नुभयो ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा बागमती सेवा समाज नेपालको आर्थिक लगानीमा बाल संरक्षण, समुदाय संलग्नता स्पोन्सरसीप परियोजनाबाट सिकाइ केन्द्रका लागि बसाइ व्यवस्थापन, प्रेरणादायी पुस्तकहरू, खेलकुद सामग्री साथै ३ वटा कम्प्युटर, टेबल, कुर्सीहरू प्रदान गरिएको बागमती सेवा समाजका परियोजना संयोजक प्रमेश बादेले बताउनुभयोे ।
संयोजक बादेका अनुसार बालबालिका तथा किशोरकिशोरीहरूले कम्प्युटर सीप सिक्न माग गरेका थिए । यसका लागि पालिका तथा वडासँग समन्वय बैठक बसेपछि वडा कार्यालयले दुई वटा कोठा उपलब्ध गराएको थियो । बागमती सेवा समाजले आवश्यक शैक्षिक तथा खेलकुद सामग्री सहित कम्प्युटर प्रदान गरेको छ । सिकाइ केन्द्रमा विद्यार्थीहरूले आफ्नो फुर्सदको समय सदुपयोग गर्दै पुस्तक पढ्ने, मनका कुरा बाँड्ने, बैठक बस्ने, योजना बनाउने तथा निःशुल्क कम्प्युटर सिक्ने अवसर पाउनेछन् । यसले उनीहरूलाई मद्यपान, धूम्रपान, लागुऔषध तथा जुवातासजस्ता गलत क्रियाकलापबाट टाढा राख्न सहयोग पुग्नेछ ।

किशोरी तथा प्रशिक्षार्थी पूजा यादवले कम्प्युटर कक्षा सञ्चालन भएकोमा खुशी व्यक्त गर्दै सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गरिन् । पर्सा गाउँपालिका कार्यपालिका सदस्य प्रविण रजकले कम्प्युटर शिक्षा वर्तमान समयको आवश्यकतासँगै अनिवार्य बनिसकेको बताउनुभयो ।
वडा–१ का अध्यक्ष सत्येन्द्र राय यादवले बालबालिकाका लागि जीवन उपयोगी सीप सिकाउने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो वडामा पनि बालमैत्री सिकाइ केन्द्र विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । त्यस्तै वडा–२ का अध्यक्ष राकेश रामले तीन महिनाका लागि १२ जना किशोरकिशोरीले कम्प्युटर तालिम प्राप्त गर्ने जानकारी दिनुहुँदै आवश्यकताअनुसार कम्प्युटर संख्या विस्तार गरिने बताउनुभयो । साथै, वडा कार्यालयले निरन्तर कम्प्युटर कक्षा सञ्चालन गर्ने प्रतिबद्धता पनि वडाअध्यक्ष रामले व्यक्त गर्नुभयो ।
कार्यक्रममा अभिभावक, शिक्षक, वडा सदस्य, वल्र्ड भिजनका जिल्ला संयोजक सीता चौधरी तथा बालबालिकाहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले वडा कार्यालयसँग थप कम्प्युटर उपलब्ध गराउन तथा कम्प्युटर कक्षा निरन्तर सञ्चालन गर्न माग गरेका छन् ।