भाइरल पोष्ट, सर्लाही
माघ २९। जनमत पार्टी सर्लाही जिल्ला समन्वय समितिको बैठक आज जिल्ला इन्चार्ज श्रीचन यादव(सुजन)को अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा केन्द्रिय कार्यकारिणी समिति सदस्यहरू, केन्द्रिय सदस्यहरू, प्रदेश सदस्यहरू, जिल्ला सदस्यहरू तथा पालिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । बैठकले केन्द्रीय समितिले सुरु गरेको ‘मिसन यू–२४’ अभियानलाई जिल्लामा पनि सफल बनाउनेसहित विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल गर्दै निर्णयहरू गरिएको जनमत पार्टीले जनाएको छ ।
बैठकको सुरुवात स्वराज आन्दोलन, मधेस आन्दोलन तथा विभिन्न प्रगतिशील आन्दोलनमा शाहदत प्राप्त ज्ञात–अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण गरेर गरिएको थियो । त्यसपछि बैठकका निर्धारित एजेन्डाहरूमा प्रवेश गरिएको थियो । बैठकमा विशेष रूपमा यू–२४ अभियान, आर्थिक वर्ष २०८०/०८१ को योजना, संगठनात्मक गतिविधिहरू, र समसामयिक राजनीतिक विषयहरूमा छलफल गरिएको जिल्ला इन्चार्ज यादवले बताए । बैठकमा यू–२४ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा विस्तृत छलफल भएको थियो । बैठकमा सहभागी सबै नेताहरूले अभियानलाई सफल बनाउन पालिकास्तरीय कार्यकर्ताहरूलाई एकजुट गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, केन्द्रबाट पठाइएका पर्यवेक्षकहरूलाई आवश्यक सहयोग गर्ने सर्वसम्मत निर्णय भएको जिल्ला इन्चार्ज यादवले बताए ।
अभियान सञ्चालनका लागि गोडैता नगरपालिकाको पर्यवेक्षकमा दिगेश्वर नायक र मलंगवा नगरपालिकाको पर्यवेक्षकमा महेश पासवानलाई जिम्मेवारी दिने जिल्ला कार्य समितिले निर्णय गरेको छ । त्यसैगरी, बैठकले आर्थिक वर्ष २०८०/०८१ का योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न मधेस सरकारको मुख्यमन्त्रीसँग पहल गर्ने निर्णय गरेको छ । जिल्लाका सबै पालिकाहरूले विकास निर्माण योजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउने सहमति जनाएका छन् ।
बैठकमा उपस्थित नेताहरूले आ–आफ्ना निर्वाचन क्षेत्र तथा पालिकाहरूमा संगठन विस्तारको अवस्था, चुनौतीहरू र समसामयिक राजनीतिक घटनाक्रमबारे रिपोर्टिङ गरेका थिए । बैठकले केन्द्रबाट जारी गरिएका निर्देशनहरू अक्षरशः पालना गर्ने निर्णय गर्दै संगठनलाई अझ सशक्त बनाउने प्रतिवद्धता जनाएको छ ।
जनमत पार्टीको यही माघ २० गते सम्पन्न केन्द्रीय समितिको बैठकले सर्लाहीसहित तराईका १८ जिल्लामा ‘मिसन यू–२४’ अभियान सञ्चालन गर्ने निर्णयसहित ती जिल्लाहरुमा अभियान संयोजक तोकि पठाएको थियो । त्यस्तै सोही दिनको बैठकले ती जिल्लाहरुका लागि क्षेत्रीय समन्वयकर्ता समेत मनोनयन गरी पठाएको थियो ।