भाइरल पोष्ट, हरिवन
माघ २३ गते । सर्लाहीको हरिवनमा ३ हजार १४ बालिकाहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप दिईने भएको छ ।
नगर उपप्रमुख हरिमाया घलानको अध्यक्षतामा बुधबार नगर स्तरीयर खोप समन्वय समिति र सञ्चारकर्मीहरुसँग अभिमुखिकरण गर्दै नगरपालिकाको सबै विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेकासमेत गरी ३ हजार १४ जनालाई सो खोप दिन लागिएको नगर स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामबाबु चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा दोश्रो चरण अन्तरगत हरिवनमा फागुन १ गतेदेखि ७ गते सम्म खोप अभियान चल्ने छ । अभियान सम्पन्न गर्न नगरका सबै २९ ओटा बिद्यालय, ११ ओटा स्वास्थ्य संस्था र समुदायमा एउटा गरी ४१ ओटा खोप केन्द्र तोकिएको छ । जसका लागि ११ ओटै वडामा दुई दुई जनाका दरले २२ जना स्वास्थ्यकर्मी र ७३ जना स्वास्थ्य स्वयमसेविकाहरुलाई खटाईने छ । उहाँले यो खोप कास्की र चितवन जिल्लासहित सातै प्रदेशका गरी १० हजार किशोरीहरुलाई दिई सकेको र यसको कुनै असर नरहेकोले ढुक्क भएर खोप लगाउन सबै बालिकाहरुलाई आग्रह गर्नुभयो र सो कार्यमा सहयोग गर्न सबै सरोकारवालालाई समेत आग्रह गर्नुभयो ।
जनस्वास्थ्य अधिकृत चौधरीका अनुसार विश्वमा हरेक वर्ष ५ लाख ७० हजार महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ भने ३ लाख ११ हजारले ज्यान गुमाउने गरेका छन् । नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ भने १ हजार ३१३ जनाको मृत्यु हुने गरेको छ ।
एचपिभी भाइरसको संक्रमणबाट हुने यो क्यान्सरको भाइरस २ सयभन्दा बढी प्रजातिको हुन्छ । ती मध्ये १२ प्रजातिका भाइरसले क्यान्सर गराउन सक्छ । ती १२ प्रजातिमध्ये नेपालमा १६ र १८ प्रजाति बढी घातक मानिएको छ । यसैको विरुद्ध नेपालमा सबै किशोरीहरुलाई खोप दिन लागिएको हो ।
यसैबीच, जिल्लाको लालबन्दी, ईश्वरपुर, मलंगवा लगायतका १० ओटा पालिकामा भने बुधवारदेखि खोप अभियान सुरु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।
अभियान अन्तरगत जिल्लामा ५१ हजार ७२४ जनालाई खोप दिइने कार्यक्रम रहेको छ ।