भाइरल पोष्ट, सर्लाही
माघ २० गते । प्राकृतिक स्रोत द्वन्द रुपमान्तरण केन्द्र नेपालले सर्लाहीमा बाटो सम्बन्धी अर्को विवाद पनि समाधानको प्रक्रिया सुरु गरेको छ ।
जल, जमिन, जङ्गल लगायतका प्राकृतिक स्रोतको उपभोगको विषयलाई लिएर समुदायमा देखिने विवाद समाधानमा अग्रणी भूमिका निर्वाह गर्र्दै आएको केन्द्रले हरिवन नगरपालिका ९ लुंगेली चोक देखि फट्टीखोला झर्ने बाटोको विषयलाई लिएर बाटोको उत्तर र दक्षिण तर्फबाट घर तथा जग्गाधनीबीचको विवाद रुपान्तरणको प्रक्रिया थालेको हो ।

केन्द्रको पहलमा आईतबार सो बाटोको विषयलाई लिएर स्थानीयबीच देखिएको विवाद द्वन्द रुपान्तरणको प्रक्रिया अनुसार पूर्व तयारी बैठक बस्यो । हरिवन नगरपालिका ९ का वडाअध्यक्ष कोकिलानन्द उप्रेतीको अध्यक्षतामा वडा कार्यालयमै बसेको वैठकमा हरिवन नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक हरिमाया घलान प्रमुख अतिथि हुनुहुन्थ्यो ।
‘‘ प्राकृतिक स्रोत द्वन्द रुपमान्तरण कार्यक्रम आठौं चरण ’’ अन्तरगत द्वन्द रुपान्तरण प्रक्रियाको थालनी गर्न आयोजित पूर्व तयारी बैठकलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानले आफ्नो नगरभित्र रहेका सबै विवादहरुलाई एक एक गर्दै मिलाउँदै जानुपर्ने बताउनुभयो । उहाँले प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले सबैलाई चित्त बुझाएर विवाद मिलाउने काम गरेको भन्नुहुँदै यो बाटोको विवादले पनि निकास पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

त्यस्तै सम्बन्धित वडाका वडाअध्यक्ष कोकिलानन्द उप्रेतीले आफ्नो वडामा केन्द्रले यसअघि पनि बाटोको विवाद मिलाएर बाटो खुलाई दिएको र यो पटक पनि विवाद मिल्ने र बाटो खुल्ने विश्वास व्यक्त गर्नुभयो ।
बैठकमा विवादमा संलग्न पक्ष तथा अन्य सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो । केन्द्रकी जिल्ला सहजकर्ता प्रज्ञा सापकोटाले सञ्चालन गर्नुभएको बैठकको सहजीकरण केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले गर्नुभएको थियो ।
प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले द्वन्द रुपान्तरणको प्रक्रिया अनुसार नै दुई वा दुईभन्दा बढी पक्ष वा समुदायबीच देखिने विवाद रुपान्तरण गर्दै आएको छ । यसले कसैले पनि नहार्ने, सबैलाई आफैले जितेको महसुस हुने गरी विवाद मिलाउने गरेको कारण जिल्लामा यसको लोकप्रियता बढ्दै गएको छ ।