सोम दियाली, सर्लाही
माघ २० गते । सर्लाहीमा माघ २३ गतेबाट पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सुरु हुने भएको छ । अभियान अन्तरगत जिल्लाका ५१ हजार ७२४ किशोरीहरुलाई खोप दिईने भएको छ ।
आईतवार जनस्वास्थ्य कार्यालय मलंगवामा जिल्लास्तरीय खोप समन्वय समिति र सञ्चारकर्मीहरुको अभिमुखिकरण कार्यक्रमका क्रममा जिल्लाका सबै विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत ४१ हजार ६३९ किशोरीहरु र विद्यालय बाहिरका १० हजार ८५ गरी कुल ५१ हजार ७२४ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप दिन लागिएको जिल्ला जनस्वास्थ्य कार्यलयले जानकारी दिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नवल किशोर झाका अनुसार अभियान माघ २३ गतेबाट फागुन ६ गते सम्म सबै विद्यालयहरुमा चल्ने छ । विद्यालय बाहिरका किशोरीहरुका लागि महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीहरुबाट खोप प्रदान गरिनेछ । अभियान सम्पन्न गर्नका लागि जिल्लामा ५१९ खोप केन्द्र तोकिएको छ भने १ हजार ३८ जना महिला स्वास्थ्य स्वयमसेविकासहित ५१९ जना खोप कार्यकर्ता परिचालन गरिनेछ ।
उहाँले देशभर माघ २२ गतेबाटै अभियान सुरु हुने भएपनि सर्लाहीसहित मधेश प्रदेशमा भने माघ २३ गतेबाट मात्रै अभियान शुभारम्भ हुने बताउनुभयो । ‘माघ २१ गते सरस्वती पूजा परेको र २२ गते सरस्वतीको मूर्ति विर्सजनको कारण विद्यालयहरु बन्द हुन्छ । जसले अभियानलाई प्रभावित बनाउने हुँदा हामीले माघ २३ गतेबाट मात्रै खोप अभियान सुरु गर्न लागेका हौं । यो अभियानमा सबैले सहयोग गर्नुहुने विश्वास लिएका छौं ।’, जनस्वास्थ्य कार्यालय प्रमुख झाले भन्नुभयो ।
त्यस्तै अभियान सौहार्दपूर्ण वातावरणमा सफल हुने प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य सबैको पहुँचमा हुनु पर्ने भएकोले अभियानले कोही पनि किशोरीहरु छुट्न नहुने बताउनुभयो ।
त्यस्तै जिल्ला समन्वय समितिका सभापति एवम जिल्ला स्तरीय खोप समन्वय समितिका अध्यक्ष कौशलकिशोर सिंहले खोप कार्यक्रम सर्लाहीमा विगतमा पनि सफल नै भएकोले यो खोप अभियान पनि सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीसहित जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।