भाइरल पोष्ट, मलंगवा
१८ माघ । विभिन्न सामाजिक संघ–संस्थाले विवाहको न्यूनतम उमेर २० वर्ष नै कायम गर्न सरकारलाई आग्रह गरेका छन्। गैसस महासंघ केन्द्रीय सदस्य लक्ष्मी सिंह नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठमार्फत ध्यानाकर्षण पत्र बुझाएको हो।
संयुक्त विज्ञप्तिमा बालविवाहले किशोर-किशोरीको शारीरिक, मानसिक तथा सामाजिक जीवनमा पार्ने नकारात्मक प्रभावबारे चेतावनी दिइएको छ। वैज्ञानिक अनुसन्धान तथा कानुनी आधारमा विवाहयोग्य उमेर घटाउनु हानिकारक हुने भन्दै यसलाई यथावत् राख्न जोड दिइएको छ।
गैर सरकारी संस्था महासंघ सर्लाहीसहित विभिन्न संघसंस्थाले हस्ताक्षर गरेको विज्ञप्तिमा जनस्वास्थ्य विज्ञ बच्चालाल महतोको समेत समर्थन रहेको छ। विज्ञप्तिमा सरकारलाई बालविवाह रोक्न थप कडा कानुनी प्रावधान लागू गर्न आग्रह गरिएको छ।